आफ्नै वनका काठ कुहिए, विदेशबाट पौने ६ अर्बको आयात !

आफ्नै वनका काठ कुहिए, विदेशबाट पौने ६ अर्बको आयात !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै ५ अर्ब ७५ करोड रुपैयाँबराबरको काठ आयात भएको छ । नेपालको वनमा काठ कुहिएको अवस्था भएपनि त्यसको व्यवस्थापनमा सरकारको ध्यान नहुँदा आयात बढेको विज्ञहरूको भनाइ छ ।

भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा भारत, चीन, इन्डोनेसिया, मलेसिया, म्यानमार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्याल ढोकामा प्रयोग हुने फ्रेम लगायत काठजन्य सामान आयात भएको थियो । इन्डोनेसिया, मलेसिया, म्यानमार, युक्रेन लगायत मुलुकबाट १ अर्ब ५१ करोड ५० लाख १५ हजार रुपैयाँबराबरको गोलिया काठ आयात भएको भन्सार विभागले जनाएको छ ।

‘गत आर्थिक वर्षमा भारत, चीन, म्यानमार, इन्डोनेसिया, सिंगापुर लगायत मुलुकबाट १ अर्ब ६३ करोड ६३ लाख ७० हजार रुपैयाँ बराबरको चिरान काठ आयात भएको छ,’ विभागका महानिर्देशक तोयम रायाले भने, ‘यस बाहेक भारत, चीन लगायत मुलुकबाट ६३ करोड ८३ लाख ४ हजार रुपैयाँ मूल्यबराबरको काठका प्लाई तथा बोर्ड आयात भएको देखिन्छ ।’

नेपालमा प्लाई काठ सबैभन्दा बढी भारत र चीनबाट आयात हुने गरेको छ । साथै झ्याल ढोकामा प्रयोग हुने फ्रेमदेखि दाँत कोट्याउने टुथपिनसम्मका काठका सामान पनि विदेशबाट आयात हुने गरेको छ ।

विभागका अनुसार गत आर्थिक वर्षमा मुलुकमा कुल वस्तु आयात १२ खर्ब ४२ अर्ब ८३ करोड रुपैयाँ मूल्यबराबरको भयो । निर्यात भने जम्मा ८१ अर्ब १९ करोड रुपैयाँको मात्र भएको देखिन्छ ।

वन तथा वातावरण मन्त्रालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा मुलुकभित्र राष्ट्रिय, सामुदायिक र निजी वनक्षेत्रबाट गरी कुल १ करोड ७५ लाख ५२ हजार घनफिट काठ उत्पादन भएको थियो । काठको माग भने वार्षिक ३ करोड घनफिटको हाराहारी रहेको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo