काठमाडौं । निर्मला हत्याकाण्डमा मुछिएका बबिता बम र रोशनी बमले केही मानवअधिकारकर्मी र संचारकर्मीहरुले आफूहरुको चरित्र हत्या गरेको उल्लेख गर्दै आपत्ति जनाएका छन । सोमबार काठमाडौंमा दुवै दिदीबहिनीले पत्रकार सम्मेलन गरी आफूहरुको चरित्र हत्या गर्ने गरी प्रतिवेदन जारी गरेको भन्दै केही मानव अधिकारकर्मीप्रति आपत्ति जनाएका हुन ।
आफूहरुसँग र छिमेकसँग घटनाबारे कुनै पनि जानकारी नलिई आफूलाई डान्स बारमा काम गर्ने केटीको रुपमा चित्रण गरी चरित्र हत्या गर्ने काम केही मानव अधिकारवादीहरुले गरेकाले त्यसको खण्डन गर्न पत्रकार सम्मेलन गर्नु परेको दिदी बबिता बमले बताईन् ।
आफूले निर्मला पन्तलाई एक/दुई चोटी घरमा बहिनीसँग आउँदा भेटेको भएपनि नचिनेको दावी समेत गरिन् । सो घटनालाई लिएर मानव अधिकारवादीहरुले आफूहरुको चरित्र हत्या गरेकाले न्याय माग्न काठमाडौं आउनु परेको बबिताले बताईन् ।
बहिनी रोशनी बमले पनि आफुहरुमाथि चरित्र हत्या गरेपछि न्याय माग्न काठमाडौं आउनु परेको स्पष्ट पारिन् । उनले सो घटनाको सत्यतथ्य बुझी दिन संचारकर्मीहरुलाई आग्रह गरिन् । निर्मला आफ्नो क्लासमेट भएपनि दिदी बबिताले नचिनेको रोशनीको पनि पत्रकार सम्मेलनमा दावी थियो ।
बबिता र रोशनी दुवै दिदीबहिनीले आफूहरुलाई दोषी देखाउन राज्यले नसकिरहेका बेला केही मानव अधिकारकर्मीहरुले झूट प्रतिवेदन सार्वजनिक गर्ने र धम्क्याउने गरेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए ।
कुनै पनि मानव अधिकारकर्मीहरुले सो घटनाबारे आफूहरुसँग र छिमेकीहरुसँग सोधपुछ नगरेको उनीहरुको दावी छ । दिदी बबिताले आफूलाई प्रहरीले दुई पटक गरेर २२ दिन जेलमै राखेर सोधपुछ गरेको पनि पत्रकार सम्मेलनमा बताईन् ।
निर्मलाको बलात्कारपछि हत्यामा उनीहरुको संलग्नता रहेको भन्दै चौतर्फी विरोध भएको थियो । निर्मला होमवर्क गर्न रोशनीको घरमा गएपछि फर्किने बेला बलात्कारपछि हत्या गरिएको अवस्थामा दोस्रो दिन विहान उखुबारीमा फेला परेकी थिईन् ।
उनको घरबाट फर्किने क्रममा हराएपछि उनीहरुमाथि आशंका गरिएको थियो । प्रहरीले समेत उनीहरुमाथि गहिरो अनुसन्धान गरेको थियो । तर उनीहरुको संलग्नताको कुनै प्रमाण फेला नपरेपछि क्लिन चिट दिएको थियो ।
उनीहरुनै हत्यारा भएको भन्दै सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत आलोचना तथा विरोध भईरहेको छ । यसैविषयमा सबैलाई प्रष्ट पार्न उनीहरु काठमाडौं आएका थिए । उनीहरुलाई महिला अधिकारकर्मी सावित्री सुबेदीले काठमाडौं ल्याएकी थिईन् ।





























प्रतिक्रिया