काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक अवस्थाबारे विश्व आर्थिक मञ्चको बैठकमा जानकारी गराएको बताएका छन् । मुलुुकको आर्थिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारको नीतिबारे विश्व समुदायलाई जानकारी गराएको पनि उनले बताएका छन् ।
स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भई स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विभिन्न मुलुकका नेतालाई जानकारी गराएको बताएका हुन् ।
दक्षिण एसियाको राजनीतिक परिदृश्य र प्रजातन्त्रको भविष्य निर्धारण विषयक बेग्लाबेग्लै छलफलमा उद्यमशीलताको विकास, गरिब र धनीबीचको खाडल पुर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुने, लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षा, आर्थिक उन्नयनका निम्ति सम्पर्क सञ्जाल विस्तार, क्षेत्रीयता प्रवद्र्धन लगायतका विषयमा नेपालको धारणा राखेको छु ’, प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र सुदृढीकरण, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जनताका अधिकारको सुनिश्चितता, सार्वभौमसत्ता सम्पन्न जनताको सुरक्षा र सम्मान, प्रेसको अपरिहार्यता र त्यसको जिम्मेवारीबारे अभिमत प्रकट गरें ।’
सञ्चारकर्मीले डा. गोविन्द केसीको अनशन र संसद्बाट पारित चिकित्सा शिक्षा विधेयकबारे जिज्ञासा राख्दा प्रधानमन्त्रीले भने , ‘कुनै पनि चिजको प्रक्रिया हुन्छ, सरकारले गर्ने कामको पनि प्रक्रिया हुन्छ, अरुको पनि प्रक्रिया हुन्छ । तपाईंहरुले जस्तो एउटा चिन्ता जाहेर गरिराख्नु भएको छ नि, त्यो चिन्ता जाहेर गरिरहनुपर्ने स्थिति छैन । तीन करोड मान्छे भएका ठाउँमा केही मानिसमा असन्तुष्टि अलिअलि हुन सक्छन्, केही चित्त नबुझेको हुन सक्छ । यस्तै कुराहरुलाई हामीले केके न असन्तुष्टि भयो भन्नु आवश्यक छैन । अब लोकतन्त्रमा पक्ष–विपक्ष, अलिकति मतमतान्तर जस्ता कुराहरु साधारण हुन् । त्यसलाई त्यस्तै ढंगले, ठीकै ढंगले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ ।’ उनले संविधान र कानुनभन्दा माथि कोही पनि नहुने बताउँदै संवादबाट समस्या समाधान गर्ने र तर्क तथ्यमा आधारित हुनुपर्ने स्पष्ट पारे ।
नागरिकबाट































प्रतिक्रिया