दुई रुपैयाँ किलोमा पनि बिक्री नभएपछि तरकारी खेतीमै डोजर

दुई रुपैयाँ किलोमा पनि बिक्री नभएपछि तरकारी खेतीमै डोजर

केन्द्रबिन्दु
0
Shares

भरतपुर

आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि खैरहनी नगरपालिका–६, तुलसीपुरका पुरन महतोले शुक्रबार बन्दाकोभी र मुला खेतमै डोजर लगाएका छन् । बजारमा प्रतिकेजी ३० रुपैयाँ मूल्यमा बिक्री भइरहेको बन्दाकोभी र १५ रुपैयाँ पर्ने मुला व्यापारीले प्रतिकेजी दुई रुपैयाँमा पनि नलगेपछि नष्ट गर्नु परेको उनको भनाइ छ ।

लगानी र मिहिनेत नै नउठ्ने भएपछि १६ कट्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलाखेती नष्ट गरेको महतोले बताए । ‘आफूखुसी पैसा दिएर तरकारी लैजानू भन्दा पनि व्यापारीले तरकारी उठाएनन्, त्यसैले बाध्य भएर डोजर लगाउनुपर्‍यो,’ उनले भने ।

पछिल्लो समय भारतबाट अत्यधिक परिमाणमा तरकारी आयात हुने गरेका कारण नेपालका किसानले उत्पादन गरेको तरकारीले बजारमूल्य पाउन सकेको छैन । अहिले बन्दा र मुला उत्पादन हुने सिजन हो । किसानले आफ्ना घरका करेसाबारीमा खेती गरेकाले पनि बन्दा र मुलाले बजार नपाएको किसानहरूको भनाइ छ ।

घरघरमै उत्पादन हुने भएकाले पनि अहिले बन्दा र मुला बजारमा कम बिक्री हुने गरेको छ । ‘हामीले उत्पादन गरेको तरकारी लिनै मान्दैनन्,’ महतोले भने, ‘तरकारीको आयात बढ्दै गएका कारण हाम्रो उत्पादनले बजार पाएको छैन ।’

बजारमूल्यभन्दा १५ गुणा कम मूल्यमा पनि बिचौलियाले तरकारी नउठाएको उनले गुनासो गरे । उत्पादन भएको तरकारी बजार पठाउन नपाएका कारण १० लाख मूल्यबराबरको घाटा लागेको महतोले जानकारी दिए ।
नयाँ पत्रिकाबाट

Logo