भैँसीहरुको पनि सुन्दरी प्रतियोगिता ! ( भिडियो सहित )

भैँसीहरुको पनि सुन्दरी प्रतियोगिता ! ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय सुन्दरी प्रतियोगिता गर्ने फेशन नै चलेको छ । युवायुवतीहरुको मात्रै होईन बालबच्चादेखि विवाहित महिलाहरुको समेत प्रतियोगिता आयोजना भईरहेका छन् । व्यक्तिको क्षमता र सुन्दरता परिक्षण गरिने यस्तो प्रतियोगिताहरु नेपालमा च्याउसरी फस्टाएको छ । यसकै प्रभाव भनौ वा नयाँ कन्सेप्ट । पछिल्लो समय पशुपंक्षीको पनि सुन्दरी प्रतियोगिता गर्ने चलन शुरु भएको छ । विगतमा हात्तीहरुको मात्रै सुन्दरी प्रतियोगिता हुने गर्दथ्यो तर अब भैँसीको पनि सुन्दरी प्रतियोगिता भएको छ ।

हाम्रो समाजमा अलि नराम्रो मान्छे देखियो भने ‘कस्तो भैँसी जस्तो’ भनेर होच्याउने चलन छ । यसको अर्थ भैँसी सबैभन्दा नराम्रो जनावर भन्ने आम मानिसको मानसिकता छ । तर तिनै भैँसीहरुको सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । सुनसरी जिल्लाको कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको हो । विपी स्मृति कृषि मेलाको अवसर पारेर कोशी गाउँपालिकाको आयोजनामा शुक्रबार ‘भैँसी सुन्दरी प्रतियोगिता’ सम्पन्न भएको स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासले जानकारी दिए ।

प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको समाजसेवी विश्वासले जानकारी दिए । विजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयम अन्सारीले बताए । प्रतियोगितामा प्रथम भएका भैँसी धनीलाई इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले भैँसी नै पुरस्कार दिने घोषणा गरेका छन् ।

प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्र भित्रका करीब दुई सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो । कार्यक्रम अन्तर्गत आज शनिबार गाई सुन्दरी प्रतियोगिता गरेको आयोजकले जनाएको छ ।

भैँसी प्रतियोगिता गरेको यो नै पहिलो पटक भने होईन । यसअघि पनि इटहरीमै भैँसी सुन्दरी प्रतियोगिता भएको थियो । गत बैशाखमा वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपालले इटहरी २ स्थित हवाई चोकमा भैसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा हिरा नाम गरेका भैँसीले उपाधि जितेको थियो । स्थानीय मिठुमाँया कार्कीले पालेको भैँसीले उपाधि जितेको थियो । उनलाई ११ हजार रुपैंयाँ पुरस्कार दिएको थियो । त्यस्तै नरबहादुर कार्कीले पालेको चम्पा नाम गरेको भैँसीले दोश्रो पुरस्कार जितेको थियो । उनलाई ९ हजार रुपैंयाँ नगद पुरस्कार दिइएको थियो । त्यसै गरी बेधनिधि दाहालले पालेको काली नामको भैँसीले तेश्रो पुरस्कार हात पारेको थियो । उनलाई ३ हजार ५ सय रुपैंयाँ नगद प्रदान गरिएको थियो । यो प्रतियोगितामा जिल्लाका ३ दर्जन भन्दा बढी भैँसीहरुलाई सहभागिता गराइएको थियो । प्रतियोगितामा कृषकहरुलाई उत्साहित गर्न र प्रोत्साहन अभिवृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको थियो । यसका साथै प्रतियोगितामा सहभागि जनाउने भैँसीहरुको ८० हजार रुपैँयाँको बिमा पनि गरिएको थियो । प्रतियोगिता हेर्न स्थानीयको ठूलो घुइँचो लागेको थियो ।

नेपालमा मात्रै होईन छिमेकी मुलुक पाकिस्तानमा पनि यस्तै प्रतियोगिता आयोजना गरिएको थियो । उत्तरी स्वात जिल्लाको सदरमुकाम मिंगोरामा भएको ३ दिने सौन्दर्य प्रतियोगितामा अजिखेली प्रजातिका भैंसीलाई मात्रै सहभागि गराइएको थियो । प्रतियोगितामा भैँसीको सुन्दरता तथा उसको दुध दिने क्षमता दुबैलाई ध्यान दिइएको थियो । अन्तराष्ट्रिय पशु अनुसन्धान संस्था तथा कृषि आविष्कार कार्यक्रमले प्रान्तिय पशु तथा दुग्ध विकाश विभाग र पेशावर कृषि विश्वविद्यालयसँगको सहकार्यमा भैँसीको सौन्दर्य प्रतियोगिता गरेको हो । यसमा अमेरिकी सहयोग नियोग युएसएडले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

अजिखेली जातको भैँसीहरुलाई मात्र प्रतियोगितामा सहभागी गराइएको थियो । उक्त नश्ल केवल स्वात उपत्यकामा मात्र पाइन्छ भने चिसो मौसममा पनि अनुकुलित हुन सक्दछ । प्रतियोगितामा स्वातका विभिन्न क्षेत्रबाट झण्डै २ सय अजिखेली भैँसी सहभागी भएका थिए । प्रतियोगितामा चार विधा राखिएको थियो । जसमा सुन्दरता, दुग्ध उत्पादन, साँढे र बाच्छा बाच्छी रहेका थिए । त्यस अन्तरगत हरेक विधाका ६।६ जना उत्कृष्ट भैँसीका मालिकलाई नगद पुरस्कार, भैँसीका दाना र सामानहरुका साथै प्रमाणपत्र दिइएको थियो ।

भैँसीलाई ‘सुत्केरी भत्ता’, जन्मदर्ता

भैँसीहरुको सुन्दरी प्रतियोगिता मात्रै होईन ‘सुत्केरी भत्ता’ समेत वितरण गर्न थालिएको छ । काभ्रेको पनौती नगरपालिकाले आफ्नो क्षेत्रका ३६० भैँसीलाई ‘सुत्केरी भत्ता’ वितरण गरेको छ । नपाले चालू आर्थिक वर्षदेखि सुत्केरीभत्तास्वरुप प्रति भैँसी पाँच हजार दिएको हो । कार्यालयले भैँसीबाट जन्मिएका पाडा वा पाडीको जन्मदर्तासमेत गरिरहेको छ । नगरप्रमुख भीम न्यौपाने कतिपय सुत्केरी भैँसीगोठमा भत्ता दिन आफैँ पुग्ने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “हामीले यस वर्ष भैँसी संरक्षण अभियान अन्तर्गत कृषकलाई व्यावसायिक भैँसीपालनतर्फ आकर्षित गरी आत्मनिर्भर बनाउन यसो गरेका हौँ ।” उहाँका अनुसार कृषकले भैँसीको सुत्केरी भत्ता लिन अनिवार्यरूपमा बीमा गरेको हुनुपर्छ ।

जन्मदर्ता भएका पाडीको स्याहार गरी सोही पाडी सुत्केरी भएपछि पालनपोषण स्वरूप कृषकले २० हजार भत्ता पाउने तथा पहिलो बेतमा ब्याएका भैँसीलाई पाँच हजार र दोस्रो बेतदेखि दुई हजारका दरले भत्ता दिने नीति नगरपालिकाले बनाएको छ । साथै कृषकले आफ्नो घरमा पालेको सुत्केरी भैँसी र उसबाट जन्मिएको पाडा वा पाडीको फोटोसहित वडा कार्यालयको सिफारिश र नागरिकताको प्रतिलिपि पेश गरेपछि नपा कार्यालयबाट भत्ता रकम उपलब्ध गराइनेछ । नगरले चालू आवमा १२ लाख रकम छुट्याएर सुत्केरी भैँसीभत्ता वितरण थालिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले व्यावसायिक कृषि र पशुपालनलाई प्राथमिकतामा राखी युवा तथा कृषकलाई अनुदान, प्रोत्साहन भत्ता दिएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न यो अभियान थालेका हौँ ।”

वडा नं १२ वडाका भावना थापाले नगरपालिकाले सुत्केरी भत्ता र अनुदान दिन थालेपछि आफूले अर्को एउटा भैँसी थप्ने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “घरमा दुईवटा छन् अब एउटा थप्छु , अब भैँसीले पाडो हैन पाडी पाओस् भन्ने चाहना छ ।” चालू आवको साउनदेखि हालसम्म सुत्केरीभत्ताका लागि भन्दै १०७ वटा माग फारम भरिएको नगरका पशु चिकित्सक मणिप्रसाद सापकोटाले बताउनुभयो ।

यसमध्ये ५५ वटा पहिलो बेतका सुत्केरी भैँसीका फारम हुन् । उहाँ भन्नुहुन्छ, “भैँसी सुत्केरी भएपछि कृषकले जानकारी दिनुहुन्छ, हामी वडाका जनप्रतिनिधिको रोहबरमा पाडा वा पाडीको जन्मदर्ता गर्छौं ।” उहाँका अनुसार चालू आवको हालसम्म रु आठ लाख सुत्केरीभत्ता वितरण गरिएको छ । सापकोटाका अनुसार नगरमा हाल चार हजार ६४७ भैँसी छन् । नगरले तीन वर्षमा १० हजारभन्दा बढी भैँसी पु¥याउने लक्ष्य राखेको छ । नगरभित्र दैनिक ९० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

भैँसी कस्तो जनावर ?

भैँसी एक घरपालुवा जनावर हो तर यसका अर्ना लगायातका जंगली प्रजातिहरू पनि छन् । दक्षिण र पूर्वी एसिया, अफ्रिका, युरोपको दक्षिणी भाग र दक्षिण अमेरिकाका केही देशहरूमा भैँसी पालिन्छ । प्रायः नेपालका कृषकहरूले दुग्ध उत्पादनको लागि भैँसी पालन गर्छन् । भैँसीको भालेलाई राँगा भनिन्छ । तराईतिरका कृषकहरूले राँगालाई जोत्ने तथा गाडा तान्ने काममा ल्याउछन् । भैसी किसानहरूको लागि निकै उपयोगी जनावर हो । यसको दुध, दही, घिउ, मही, लगायत गोबर पनि किसानहरूको लागि निकै उपयोगी वस्तु हो। नेपाल लगायत विश्वका धेरै ठाउँका मानिसहरूले भैँसीको मासु पनि खाने गर्दछन् ।

हिन्दू धर्मका धार्मिक ग्रन्थहरूका अनुसार पौराणिक कालमा तपश्वी ऋषि विश्वामित्रको ब्रह्माजीसँग विवाद भएका थियो । विश्वामित्रले ब्रह्माजीको सृष्टी नमान्ने र आफ्नो छुट्टै सृष्ठी खडा गर्ने मनसायले ब्रह्माजीले सृष्ठी गरेको गाईको सट्टामा आफूले भैंसीको सृष्टी गरेका थिए । हेरौं यो भिडियोमा :

 

Skip This
Skip This
Logo