काठमाडौँ
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधिसभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् ।
कैलाली क्षेत्र नं १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी (राजपा) सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको सपथ गराएका थिए । सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो । स्रोतका अनुसार सभामुख महरालाई जेलमै गएर शपथ गराउन सरकारको तर्फबाट आग्रह भए पनि उनले त्यहाँ नजाने अडान राखेका थिए । त्यसै कारण आफ्नै कार्यकक्षमा प्रहरीको सुरक्षामा जेलबाट ल्याएर शपथ गराइएको थियो ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ अनुसार, ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ,’ भन्ने उल्लेख छ ।
यता सत्तारुढ संघीय समाजवादी फोरमका सांसद रौनियारविरुद्ध पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्षको हैसियतमा १९ करोड रुपैयाँ बिगोसहित अख्तियारले गत असोज १९ मा मुद्दा दायर गरेयता उनी स्वतः निलम्वनको अवस्थामा छन् । संसद सचिवालयको उच्च स्रोतका अनुसार उनले मुद्दा दायर भए पनि प्रतिनिधिसभामा आउन चाहेका थिए । तर प्रेसले उनका बारेमा लेख्न सक्ने र अख्तियारको मुद्दाबाट स्वतः निलम्वनको अवस्था हुने हुनाले बैठकमा नआउन सुझाव दिइएको थियो ।
नागरिकबाट





























प्रतिक्रिया