अवकाशप्राप्त प्रहरी अधिकृतको घरमा कार्यरत ८५ जना प्रहरी फिर्ता

अवकाशप्राप्त प्रहरी अधिकृतको घरमा कार्यरत ८५ जना प्रहरी फिर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन् । प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ । नियमविपरीत पूर्वएआइजीहरूले राखेका पिएसओ पनि हटाइएको छ । कार्यविधिमा अवकाशप्राप्त आइजिपीले मात्र पिएसओ तथा सहयोगीको सुविधा पाउने उल्लेख छ । तर सबैजसो अवकाशप्राप्त एआइजीहरूले पिएसओका नाममा सहयोगी राखेका छन् । एआइजीले राखेका एकभन्दा धेरै प्रहरी मात्र फिर्ता गरिएको स्रोतले बतायो ।

पूर्वएआइजी विजयलाल कायस्थको घरबाट एक हवल्दार र तीन जवानलाई फिर्ता गरिएको छ । अझै पनि उनीकहाँ केही प्रहरी छन् । पूर्वआइजिपीहरू दुर्लभकुमार थापा, रमेश चन्द ठकुरी, हेम गुरुङ, ओमविक्रम राणा र उपेन्द्रकान्त अर्यालको घरमा अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता गरिएको छ । नेता लगायत उच्चपदस्थ व्यक्तिले अवैध रूपमा राख्दै आएका २३ सुरक्षाकर्मी फिर्ता गरिएका छन् । बुधबार मात्र पूर्वगृहमन्त्री जनार्दन शर्मा र कांग्रेस सांसद अमेरशकुमार सिंहले राखेका प्रहरी फिर्ता गरिएको छ ।
नयाँ पत्रिकाबाट

Logo