चिसोले कठ्यांग्रिएर काठमाडौंमै दैनिक ६ जनाको मृत्यु !

चिसोले कठ्यांग्रिएर काठमाडौंमै दैनिक ६ जनाको मृत्यु !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

काठमाडौंमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेषगरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् । प्रहरीका अनुसार यो तथ्यांक काठमाडौं महानगरपालिका आसपासका सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको मात्रै हो । यस्ता वृद्धवृद्धा काठमाडौंको सडकपेटीमा दुई सयको हाराहारीमा रहेको प्रहरीको दाबी छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरेलले बढ्दो चिसोका कारण प्रत्येक वर्षको जाडोमा कक्रिएर दैनिक चारदेखि ६ जनाको मृत्यु हुने गरेको बताए । ‘बढ्दो चिसोले सहरमै दैनिक चारदेखि ६ जनाको कक्रिएर मृत्यु हुन्छ । सडकपेटीका बेवारिसे वृद्धवृद्धाले चिसोका कारण मृत्युवरण गरिरहेका छन्,’ उनले भने, ‘विगत वर्षका तथ्यांकले यस्तै देखाउँछ ।’ प्रहरीका अनुसार काठमाडौं उपत्यकाका मन्दिर आसपासका क्षेत्रमा धेरै छन् । त्यसमा पनि भिख माग्ने वृद्धवृद्धाको संख्या धेरै छ ।

यसैविच काठमाडौंमा जाडोले कक्रिएर मर्नेको संख्या बढेपछि प्रहरीले सडकपेटीमा बेवारिसे अवस्थामा रहेका वृद्धवृद्धाको तथ्यांक संकलन गरी उनीहरूलाई वृद्धाश्रममा लैजान थालेको छ । एक साता यता प्रहरीले स्वयम्भू, पशुपति, संकटा लगायतका मन्दिर क्षेत्रबाट २० जना वृद्धवृद्धालाई विभिन्न वृद्धाश्रममा बुझाएको छ । उनीहरूलाई कालिमाटीस्थित दिलशोभा श्रेष्ठले सञ्चालन गरेको आमाघर, गोंगबुको हिमाल वृद्धाश्रम र लैनचौरको वरिष्ठ नागरिक समाज वृद्धाश्रममा राखिएको छ ।
नयाँ पत्रिकाबाट

Logo