काठमाडौँ
आधुनिक नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको नेतृत्व र योगदान महत्वपूर्ण रहेकाले सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रि) ले २९७ औँ पृथ्वी जयन्तीका सन्दर्भमा आयोजना गरेको अन्तर्क्रियामा सहभागी वक्ताले एकीकरणका लागि गरेको परिकल्पना र सङ्घर्षका कारण विश्व परिवेशमा नेपालीको पहिचान कायम भएको विचार व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा प्रा दिनेशराज पन्तले प्राचीनकालमा विशाल रहेको नेपाल विभिन्न कारणले लिच्छवीकालको अन्त्यतिर ५२ राज्यमा विभाजन भएको उल्लेख गर्दै शाहले नेपाललाई पुनः एकीकरण गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको नेपालीले भोग गर्न पाउने व्यवस्था गरिदिएकाले प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले भारतमा अङ्गे्रजको शासन उदाउँदै गएको अवस्थामा शाहको कुशल नेतृत्वमा छरिएका राज्यलाई एकीकरण गर्नु ठूलो वीरता भएको विचार व्यक्त गर्नुभयो ।
महामन्त्री राजाराम श्रेष्ठले आधुनिक नेपालको निर्माण गरिसकेपछि शाहले अगाडिका राजाहरुले सञ्चालन गरेका पर्व तथा परम्परालाई निरन्तरता दिने कार्यले विभिन्न जाति समुदायकाबीच सांस्कृतिक एकता कायम गर्न सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । पूर्वरथी प्रेमसिंह बस्नेत, डा यादव ढुङ्गाना, पत्रकार देवप्रकाश त्रिपाठी लगायतले पछिल्लो समय शाहको अवमूल्यन गरिएकामा चिन्ता व्यक्त गर्दै उहाँको व्यक्तित्व र योगदानलाई सरकारले भुल्न नहुनेमा जोड दिनुभयो ।
रासस





























प्रतिक्रिया