काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार सदनमा गरेको सम्बोधनमा प्रश्नोत्तर गर्न नपाएपछि रोकिएको प्रतिनिधिसभा बैठक बुधबार (आज) बस्दै छ । प्रधानमन्त्री ओलीले प्रतिपक्षसँग प्रश्नोत्तरमा सहभागी हुन नमानेपछि सभामुख कृष्णबहादुर महराले सूचना टाँसेर बैठक नै स्थगित गरेका थिए ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधनपछि प्रश्नोत्तर गर्न नदिएको भन्दै प्रमुख प्रतिपक्षले बैठक अवरुद्ध गरेका थिए । आज बस्ने संसद् बैठकमा पनि प्रश्नोत्तरको कार्यक्रम नराखे सदन चल्न नदिने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । उनका अनुसार बैठकको सुरुमै प्रधानमन्त्रीले प्रतिपक्षसँगको प्रश्नोत्तरको कार्यसूची राख्नुपर्ने कांग्रेसको माग छ । तर संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने प्रश्नोत्तरको कार्यसूची राखिएको छैन ।
सचिवालयले सार्वजनिक गरेको कार्यसूचीनुसार बुधबारको संसद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ लाई प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक प्रस्ताव गर्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पारमाणविक विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
राजधानीबाट





























प्रतिक्रिया