मेलम्चीको काम २२ दिनदेखि ठप्प : अझै अन्योल

मेलम्चीको काम २२ दिनदेखि ठप्प : अझै अन्योल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदै छ । आयोजनाको मुख्य ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सीएमसी दि रेभेन्ना) को उक्त टोली आएपछि मेलम्चीमा देखिएको समस्याको समाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ ।

आयोजनाका उच्च अधिकारीका अनुसार आज सोमबार फर्किने र वार्ता गरेर बाँकी रहेको मेलम्चीको काम सम्पन्न गर्ने भन्दै ती कम्पनीका कर्मचारीहरु स्वदेश फर्केका हुन् । ‘ठेकेदार कम्पनीका कर्मचारीहरु चाड मनाउन भन्दै पुस २३ मा फर्कने सर्तमा नेपाल छोडेका थिए । आएपछि निर्णायक वार्ता बसेर समाधान निकालिने भनेको छ’ –आयोजना स्रोतले भन्यो ।

अब आयोजनाको काम सम्पन्न गर्न कसरी जाने, के गर्ने भन्ने विषय उक्त वार्ता नै निर्णायक हुने उनको भनाइ छ । खानेपानी मन्त्रालयका सहसचिव शंकर सुवेदीले सोमबारदेखि इटालिएन टोली नेपाल फर्कने कुरा भएको बताउनुभयो । ‘प्रमुख नै आउने हो कि प्रतिनिधि मात्रै आउने हो त्यो चाहिँ खुलेको छैन’, उहाँले भन्नुभयो– ‘आउने भनेको छ । आएपछि काम थप अगाडि बढ्न वार्तालाई माध्यम बनाइनेछ ।’

सरकारले क्रिसमस र नयाँ वर्ष मनाउने नाममा देश छाड्न लागेका सीएमसीका कर्मचारीलाई पुस १ गते बेलुका त्रिभुवन विमानस्थलमा पक्राउ गरी राहदानी जफत गरेको थियो । पुस २३ मा फर्केर आउने र आयोजनाको बाँकी काम सम्पन्न गर्ने सहमतिमा इटालियन दूतावासको रोहबरमा उनीहरुलाई आफ्नो देश फर्कन दिइएको थियो ।

ठेकेदारले साइट छोडेपछि मेलम्चीको काम २२ दिनेदेखि ठप्प भई अलपत्र अवस्थामा पुगेको छ । मेलम्चीको सुरुङ ढलान एक किलोमिटर बाँकी छ । कंक्रिट लाइनिङको काम ९६० मिटर बाँकी छ । इन्टेकको काम पनि पूरा भएको छैन ।
नेपाल समाचारपत्रबाट

Logo