सिन्धुपाल्चोकमा रहेको बम्जन आश्रमभित्र हत्या र बेपत्ता आरोप : प्रमाण जुटाउँदै सिआइबी

सिन्धुपाल्चोकमा रहेको बम्जन आश्रमभित्र हत्या र बेपत्ता आरोप : प्रमाण जुटाउँदै सिआइबी

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक

एक अनुयायीको हत्या गरी नुन छर्केर गाडिएको आशंका गरिएको रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रमबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले नुनका खाली प्याकेट (पोका) बरामद गरेको छ ।

शव गाडिएको भनिएको खाडल उत्खनन् गर्दा भेटिएका पोकाले अनुसन्धान अघि बढाउन बाटो खुलेको निष्कर्ष फिल्डमा खटिएको सिआइबी टोलीले निकालेको छ । सिआइबी र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको संयूक्त टोलीले शुक्रबार आश्रम नियन्त्रणमा लिँदै छापा मारेर अनुसन्धान थालेको थियो ।

‘जुन ठाउँमा अनुयायी हत्या गरेर गाडिएको सूचना हामीलाई थियो, त्यही स्थान उत्खनन् गर्दा नुनका नौ वटा खाली प्याकेट फेला पार्‍यौँ,’ एक अनुसन्धानकर्ताले भने । उनका अनुसार पाँच फिट गहिरो खाडल खनेपछि प्लास्टिकका पोका भेटिएका थिए । खाडलबाट हड्डी, मानव कंकाल लगायत वस्तु भने नभेटिएको उनले बताए । स्रोतका अनुसार सिआइबीलाई शव गाड्दा २० प्याकेट नुन छर्केको पूर्वसूचना थियो ।

‘२० मध्ये नौ खाली पोका फेला पर्नुलाई ठूलो उपलब्धि ठानेका छौँ । यसले अनुसन्धानलाई साँघुर्‍याउँदै अघि बढ्न मार्ग प्रसस्त गरेको छ,’ सिआइबी स्रोतले बतायो । आश्रमबाट करिव तीन सय मिटर उत्तरतर्फ शव गाडिएको पूर्वसूचनाका आधारमा उक्त स्थानलाई केन्द्रविन्दु बनाएर प्रहरीले शनिबार खाडल उत्खनन् गरेको थियो ।
नागरिकबाट

Logo