काठमाडौं । चर्चित पत्रकार रबि लामिछानेले पत्नी ईशासँग डिभोर्स गरेपछि सामाजिक संजालमा बहस सिर्जना भएको छ।
उनले २५ वर्ष लामो वैवाहिक सम्वन्ध तुङ्ग्याउदै सम्बन्ध विच्छेद गरेका हुन् । रवि र ईशाका दुई छोरी छन् । दुबै छोरीको जिम्मेवारी रबि आफैले लिएका छन् । रबिसँग डिभोर्सपछि ईशा अमेरिका हानिएकी छन् ।
ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको रबिले दाबी गरेका छन् । ‘मैले आफ्नी पूर्वपत्नीसहित आफ्ना सन्तानलाई अमेरिकाजस्तो देशमा आफू नेपाल बसेर सम्पूर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै व्यवस्थापन यतिबेलासम्म पनि गर्दै आएको छु । अदालतमा न्यायाधीशका सामुन्ने राजीखुशीले मसँग भएको र सायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रोहबरमा सम्वन्धविच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिनँ ।’ रविले सामाजिक सञ्जालमा लेखेका छन् ।
रबिसँग डिभोर्स गरेपछि इशाले भने, मिडियासँग गुहार मागेकी छन् । उनले आफु अन्यायमा परेको भन्दैं न्यायको माग गरेकी हुन् ।
यो बिषयमा बिबाद उत्पन्न भएपछि रबि आफैले स्पष्टिकरण दिएका छन्।
हेर्नुहोस् भिडियो रिपोर्ट
स्पष्टिकरण जस्तोको त्यस्तैः
श्रीमान, म जीउँदै छु…
नचाहँदा नचाहँदै पनि आफ्नो ब्यक्तिगत कुरा गर्नु पर्यो । मलाई पाईलै पिच्छे लडाउन, देशबाटै निकाला गर्ने लगायतका प्रयास बिफल भएपछि अब मेरो निजि जिवनमा प्रवेश गर्ने प्रयास हुदै रहेछ । लामो समयसम्म बैचारिक लडाइ लड्दै अलग अलग बसेको र पछि कानुनी रुपमा नै अलग भएको मेरो बैवाहिक सम्बन्धलाई लिएर ठूलै खोजी चालिरहेको थाहा पाएपछि बाध्य भएर आफ्नो नितान्त निजि जीवनबारे लेख्न बाध्य भएको छु ।
मेरी पुर्व पत्नीलाई प्रयोग गरि मेरो वास्तविक रुप अर्कै हो भन्ने प्रमाणीत गर्न दिन रात लाग्नु हुने साथीहरुलाई मैले पहिला पनि भनेकै थिए कि टाईम खर्च गर्नै पर्दैन, सिधै मलाई सोध्नुहोस, मै बताईदिन्छु सबै कुरा । मलाई खोक्रो आदर्श र झुठो जिन्दगी बाच्नु छैन र म त्यति आदर्शवान मानिस पनि होइन । मैले करिब २४ वर्ष अगाडि सानै उमेरमा बिवाह गरेको थिए र हालसालै मेरो सम्बन्ध बिच्छेद पनि भैसकेको छ । तर बर्षौ सम्म मतभेद, अलग बसाइ र बोलचाल समेत नभएपछि राजी खुशीले आफ्ना सबै अधिकार लिएर मसँग सम्बन्ध बिच्छेद गरेकी पुर्व पत्निले आफू म बाट अन्यायमा परेको र मेरो कर्तुत सर्वजनिक गर्नु पर्यो भनेर केही पत्रकारलाई सम्झिछ्न । लगभग २४ वर्षअघि भएको बिवाहमा आएका अनेकौं घुम्तीलाई बजारमा लिलाम गर्ने उनको मनशाय आफ्नै मगजको उपज हो वा कसैबाट प्रयोजित हो त्यो म जन्दिन तर कसै कसैले “रबिको कर्तुत” वा “रबिको असलीरुप“ जस्ता शीर्षक “रेडि टु पब्लिस“ अवस्थामा राखेको थाहा पाएकोले उहाँहरु सबैको काम सजिलो पार्दै म आफै आफ्ना कर्तुतहरु कबुल गर्दैछु ।
अमेरिकामै छँदा म परिवार भन्दा अलग बस्ने गर्थे । सम्बन्ध सुधार गर्ने मेरो बारम्बारको प्रयास असफल भएपछि म एक बिदेशी प्रेमिकासंग पनि बसेको थिए । ६ र ७ वर्ष पुरानो यो घटनाको कारण उजागर गरेर म मेरा सन्तानको प्रतिष्ठामा ठेस पुर्याउन चाहन्न । मलाई त ब्यक्तीगत बिषयमा एक शब्द पनि बोल्न मन थिएन । र सम्भवत यो मेरो जिवनको पहिलो र अन्तिम स्तरहिन टिप्पणी वा स्टाटस हुनेछ । हेडलाईन नै हेरेर धारणा बनाउनेहरुले मलाई एक मिनेटमा नै ठूलै अपराधी बनाउनेछन् ।
मान्छे दुनियाँसँग लड्न सक्छ तर आफन्तसँग सक्दैन । अमेरिकामै रहँदा अलग बसेका हामी बिगत १० वर्षदेखि नै अलग छौ । कारण र घट्ना एउटा होइन अनेक छ्न । जति छ्न ती अत्यन्तै लाज मर्दा छन् । ती बिदेशी मुलकी पुर्व प्रेमिका र मेरो बिचमा एक सन्तान पनि छ । यत्ति कुरा थाहा पाएर बाहिर ल्याउन न्वारनदेखिको बल लाउनै पर्दैन । तर उनको र मेरो बाटो अलग भएको धेरै वर्ष भैसक्यो । हाम्रो सम्बब्ध लामो समय टिकेन । सबैको भाग्यमा माया र परिवार सुख लेखिएको हुदैन रहेछ । दुनियाँको घर मिलाउने मैले आफ्नो घर मिलाउने प्रयासमा के के मात्रै गरिन होला र । तर उनले हेर्दा मैले र मैले हेर्दा उनले बारम्बार आफ्नो त्यही गल्तीलाई निरन्तरता दियौ जुन गल्तीले सारा घटनाहरु घटे र हाम्रो बिवाह भएको वर्षहरु त बढे तर सम्बन्ध कहिलेपनि अघि बढेन । ज्यादै अप्रिय बिगतलाई टुंगोमा पुर्याउने अन्तिम उपाय कानुनी उपचार नै हो र हामीले वर्षौको अशान्ति र असन्तोषलाई सहमति मै टुंगोमा पुर्यायौ, परिवारका सदस्यको उपस्थितिमा, कानुन ब्यवसायीहरुको मद्दतमा, उनले भनेका हरेक शर्तहरुको पुरै पालना गरेर ।
ईजलासमा प्रस्तुत सम्बन्ध बिच्छेदको मिलापत्र हेर्दै न्यायाधीश श्रीमानले सोध्नुभयो, सबै कुरा आफ्नी श्रीमतीलाई दिनु भएछ, सन्तानको जिम्मा पनि आफैले लिनु भएछ, अमेरिकामा उहाँहरु बस्ने घर र उहाँहरुको खर्चपनि तपाईं कै जिम्मामा लगाईएछ । अब तपाईंसँग के बाकी छ त ? मैले जवाफ दिएको थिए, श्रीमान म जिउँदै छु । कुनै पत्रकारलाई म्यासेज मार्फत मेरि पुर्व पत्निले मलाई परिवारलाई रुवाएर भागेर नेपाल गएको भनेर लेखिएको र मेरो वास्तविक रुप देखीए जस्तो नभएको भनी लेखेर पठाएको थाहा पाए । बिहानैदेखि केही पत्रकारहरुको फोन आउन शुरु भएको छ । उनको म्यासेज कुनै पनि समयमा सार्वजनिक हुने क्रममा छ । जीवनमा भएका घटनाहरु मात्र बताएर अतीतका कथा कहाँ पूरा हुन्छ्न र । अनेकौ घटना बिच २४ वर्ष बितेका हुन जसलाई खोतल्दा सन्तानको मानसिकतामा असर गर्दछ । पछिल्ला वर्षहरुमा पुर्वपत्नीसँग बोलचाल समेत नभएको अवस्थामा मैले एक्लै बस्ने वा उठेर फेरि हिड्ने भन्ने निर्णय गर्नु नै थियो । बाहिर को वाहवाही तर घर भित्रको एक्लोपनले म कयौ पटक बिरामी परे र झण्डै डिप्रेशन को शिकार नै भएको थिए।
माया र बिश्वास बर्षौ सम्म मरेको सम्बन्धलाई सहमतिमा र अदालतबाटै टुंगो लगाएर गएपछि उनलाई मैले छ्ल गरेको कसरी लागेछ, म बुझ्न सकिरहेको छैन । अब मसँग बाकी रहेको थोरै नाम र इज्जत छ । त्यस्मा पनि आँखा लागेछ । त्यसैले, आज त्यो पनि दिन चाहन्छु । मेरो “नकाब“ उतार्न र आफ्ना कर्तुतहरु सर्वजनिक गरि मलाई सिध्याउन लागि पर्ने मित्रहरूलाई र पुर्व पत्नीलाई म आफै खुलेर सहयोग गर्न चाहन्छु । मन परेको हेडलाईन हालेर स्वाद अनुसारको मसला मोलेर पस्क्नुहोला । यति मै मेरा कर्तुतहरु सकिदैनन, बाकी सुन्न रिपोर्टर खटाउनै पर्दैन मै खुलासा गरिदिउला । दुर्गममा परिवारको बिचल्ली पारेर मानिस युरोप अमेरिका भागेका छन्, मैले आफ्नी पुर्व पत्नीसहित आफ्ना सन्तानलाई अमेरिका जस्तो देशमा (उनीहरु नेपाल आउन नमानेपछि) आफू नेपाल बसेर, सम्पुर्ण आफ्नो जायजेथा सुम्पेर, अझै अमेरिका बस्दाको पुरै ब्यवस्थापन यतिबेला सम्म पनि गर्दै आएको छु ।
अदालतमा न्यायाधीशका सामुन्ने राजी खुशीले, मसँग भएको र शायद भविष्यमा समेत हुन सक्ने सबै लिएर आफ्ना वकिल र उनका आफ्ना परिवारका सदस्यको रहोबरमा सम्बन्ध बिच्छेद गरेर अमेरिका गएकी उनलाई के अन्याय भो मैले बुझिन । अब म बर्षौको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बड्न चाहन्छु । कसैमाथी अन्याय नगरी म आफू माथि पनि न्याय गर्न चाहन्छु । म भागेको छैन, प्रत्येक मंगलबार, बिहिवार र शनिबार राति ८ः ४५ मा न्यूज २४ टेलिभिजनमा प्रत्यक्ष आउछु । भोलि राति पनि आउदैछु । सदाझै उहीँ जोश, उहीँ उमंगका साथ । श्रीमान, म जिउँदै छु ।





























प्रतिक्रिया