बुटवल
प्रदेश नम्बर ५ अन्तर्गत सामाजिक विकास मन्त्रालयले अनुदानका नाममा शैक्षिक संस्थालाई करोडौं रकम हचुवाका भरमा बाँडेको भन्दै सामाजिक विकास समितिले विवरण माग गरेको छ ।
मन्त्रालयले अनुदान बाँड्दा आफू अनुकुलका क्याम्पस छानेको, पारदर्शिता नअपनाइएको आरोप समेत सांसदले लगाएका छन् । सामाजिक विकास समितिको मंगलबार बसेको बैठकले तीन दिनभित्र क्याम्पसलाई अनुदान बाँड्नुको कारण, मापदण्ड र कार्यविधि माग गर्दै मन्त्रालयलाई निर्देशन समेत दिएको छ । बैठकमा सांसदले मन्त्री र कर्मचारीका रोजाइका क्याम्पसले अनुदान पाएको आरोप लगाए ।
‘अनुदान हचुवाका भरमा बाँडिएको छ, यसमा मापदण्ड अपनाइएको देखिएन,’ समितिका सदस्य अर्जुनबहादृुर केसीले भने, ‘विकट क्षेत्रमा भएका क्याम्पसले अनुदान नपाउने, जसको पहुँच छ उसले मात्रै पाउने ?’ उनले छोटो सूचना जारी गरेर करोडौं रकम बाँढ्नु गलत भएको बताए । महायज्ञ गरेर, चन्दा उठाएर ग्रामीण क्षेत्रमा चलेका क्याम्पसलाई अनुदान नदिएको भन्दै उनले वितरण प्रणाली उपयुक्त नभएको बताए ।
अर्का सदस्य अष्टभुजा पाठकले क्याम्पस वर्गीकरण गर्ने मापदण्ड पारदर्शी नभएको भन्दै अनियमितताको आशंका गरे । समितिले अनुदान वितरण प्रक्रिया तत्काललाई रोक्न मन्त्रालयलाई निर्देशन समेत दिनुपर्ने माग गरेका छन् ।
अन्नपूर्णबाट





























प्रतिक्रिया