अब पुनः श्रम स्वीकृति लिन काठमाडौं आउनु नपर्ने, अबदेखि प्रदेशबाटै सेवा पाईने

अब पुनः श्रम स्वीकृति लिन काठमाडौं आउनु नपर्ने, अबदेखि प्रदेशबाटै सेवा पाईने


काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुले पुनस् श्रम स्वीकृतिका अब काठमाडौं आउनु नपर्ने भएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आजदेखि प्रदेशबाटै पुनः श्रम स्वीकृति जारी गर्न थालेको छ ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी प्रदेशबाट नै पुनः श्रम स्वीकृति दिन सुरु गरिएको हो । आइतबारदेखि पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै, विराटनगर, धनगढी र सुर्खेतबाट सेवा सुरु गर्ने तयारी भईरहेको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिए । प्रदेशबाट सुरु गरिएको कामलाई सहज बनाउन कम्प्युटर अपरेटर, अधिकृत, सुब्बा र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ ।

ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिनेछ ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । अब सेवाग्राहीले श्रम स्वीकृतिका लागि काठमाडौंको ताहाचालस्थित श्रम कार्यालयमा लाइन लाग्नुपर्ने छैन ।

Logo