राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट तमुल्होसारको छुट्टा छुट्टै शुभकामना सन्देश

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट तमुल्होसारको छुट्टा छुट्टै शुभकामना सन्देश

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार जस्ता राष्ट्रिय पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाउन मद्दत गरेको बताउनु भएको छ ।

तमुल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले नेपालमा विभिन्न जातजातिले मनाउने चाडपर्वले विश्वमा नेपालको विशिष्ट सांस्कृतिक पहिचान स्थापित गरेको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकको सांस्कृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन र ग्रामीण पर्यटन विकासमा गुरुङ समुदायले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै यस्ता पर्वले आपसी सद्भाव बढाइ आर्थिक र सामाजिकरुपले समृद्ध मुलुक निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सन्देशमा उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली गुरुङ समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

यता उपराष्ट्रपति नन्दबहादुर पुनले पनि गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तमु दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले आज एक शुभकामना सन्देश दिनुहुँदै धर्मनिरपेक्ष हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण रहेको र सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताउनुभयो

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको उल्लेख गर्दै उहाँले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी समिश्रण एवं साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहार्दका लागि संसारभरि नै सुपरिचित रहेको बताउनुभयो ।

उपराष्ट्रपति पुनले विविधताबीच राष्ट्रिय एकता हुनु नेपालीको विशेषता हो भन्दै हाम्रा मौलिक धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै हाम्रो राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिनेछ बताउनुभयो ।

तमु ल्होसारले नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने तथा मौलिक संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा योगदान दिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

यसैगरि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सरकार समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागिपरेको बताउनुभएको छ ।

तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायलाई आज शुभकामना सन्देश दिँदै उहाँले समाजमा रहेका विभेद र असमानता हटाई समातामूलक समाज निर्माण गर्ने एकमात्र लक्ष्यका साथ सरकार अगाडि बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल विविधतामा एकता भएको देश रहेको उल्लेख गर्दै “विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्व विगतमा धेरै सक्रिय भए तर नेपालीको एकताले त्यस्ता तत्वको प्रयास कहिल्यैँ सफल हुन दिएन भन्नुभयो ।”

हामी लामो समय राजनीतिक हकअधिकारप्राप्तिको सङ्घर्षमा होमिनुपर्दा देशले विकासको गति लिन नसकेको र जनताले अभाव, अशिक्षा एवम् गरीबी भोग्नुपरेको बताउँदै उहाँले नेपालमा राजनीतिक मुद्दा सकिएकाले अब हामीले आर्थिक विकास र समृद्धिको यात्रा प्रारम्भ गरेका छौं भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभयो, “सरकारले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान शुरु गरेको छ, यो अभियानलाई सफल पार्न सरकारको एक्लो प्रयास मात्र पूर्ण हुँदैन, त्यसैले यस महाअभियानमा सबै सङ्घसंस्था र समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ, आशा छ तमु समुदायले सरकारको यो महाअिभयानमा पूर्णरुपमा सहकार्य गर्नेछ ।”

नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएकाले यहाँ बसोबास गर्ने विभिन्न जाति, जनजातिका आफ्ना आफ्नै खालका विशेषता र आफ्नै संवत्, संस्कृति र चाडपर्व रहेको उल्लेख गर्दै उहाँले त्यसैमध्येका एक तमु जातिले ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउने गरेको बताउनुभयो ।
रासस

Logo