तोडियो अनशन, तोडिएन अडान : गंगामाया अधिकारी वीर अस्पतालमै

तोडियो अनशन, तोडिएन अडान : गंगामाया अधिकारी वीर अस्पतालमै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अनशन तोडिएको भनिएकी गंगामाया अधिकारी वीर अस्पतालमै हुनुहुन्छ । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङको उपस्थितिमा अनशन तोडिएको भनिए पनि गंगामायाले अस्पताल छोड्नुभएको छैन ।

गंगामायाले भने आफूले न्याय नपाएकाले अनशन जारी रहेको दाबी गर्नुभएको छ । सरकारले अक्षयकोषमा १ करोड रुपैयाँ राखेर ब्याजबापत आएको ५० हजार रुपियाँ मासिकखर्च बापत दिने उल्लेख गरेको थियो ।

नेपाल मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले पनि गंगामायाले अनशन नतोडेको दाबी गर्नुभयो । गंगामाया र नन्द्रप्रसादको घटनालाई नजिकबाट बुझ्दै आउनुभएका अर्यालले भन्नुभयो– ‘अनशन जारी छ, आफू पैसाका लागि अनशन बसेको होइन भन्नुहुन्छ ।’

गंगामायालाई बाहिर पनि निस्कन दिइएको छैन । कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशन बसिरहेका बेला ३ सय २९ दिनमा २०७१ असोज ६ गते नन्दप्रसाद अधिकारीको निधन भएको थियो । गोरखा फुजेलका कृष्णप्रसादको २०६१ साल जेठ २४ गते माओवादीले हत्या गरेको आरोप छ । एसएलसी परीक्षा सकेर चितवनमा रहनुभएकी हजुरआमाका घरमा गएका बेला उनको अपहरणपछि हत्या भएको थियो । घटनाका दोषीलाई कानुनी कारबाही नभएको भन्दै परिवारले नन्दप्रसादको शव अझैसम्म उठाएको छैन ।

शवको दाहसंस्कार नहुँदा काजकिरिया पनि भएको छैन । प्रतिनिधिसभा र राष्ट्रियसभामा गंगामायाको जीवनरक्षाका लागि सरकारसँग सांसदहरूले माग गरेका थिए ।
नेपाल समाचारपत्रबाट

Logo