प्रदेशमा पनि सांसद र मन्त्रीहरुको इन्धनमा दोहोरो दोहन

प्रदेशमा पनि सांसद र मन्त्रीहरुको इन्धनमा दोहोरो दोहन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले इन्धनमा दोहोरो सुविधा लिइरहेका छन् । मुख्यमन्त्री कार्यालयबाट इन्धनबापतको रकम बुझ्ने मन्त्रीहरूले गाडीमा भने मन्त्रालयको कुपनबाट तेल हाल्ने गरेका छन् ।

मन्त्रीहरूको पारिश्रमिक र सेवासुविधा सम्बन्धी ऐनअनुसार सरकारले मन्त्रीहरूलाई मासिक २ सय ५० लिटर र राज्यमन्त्रीहरूलाई दुई सय लिटर इन्धन सुविधा दिन्छ । यो रकम उनीहरूले मासिक पारिश्रमिकसँगै नगदमा बुझ्दै आएका छन् । तर मन्त्रीहरूले मन्त्रालयबाट थप मासिक ३ सय २० लिटरसम्म तेल लिने गरेको पाइएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले साउन यता मन्त्रालयबाट ९ सय लिटर तेल बुझेका छन् । उनका स्वकीय सचिवले पनि मन्त्रालयकै सवारीसाधन र इन्धन प्रयोग गर्ने गरेको मन्त्रालय स्रोतले जनाएको छ । त्यस्तै कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले मंसिरमा मात्रै मन्त्रालयबाट १ सय ३५ लिटर तेल हालेकी छिन् । मन्त्रालयको तथ्यांक अनुसार उनले भदौमा १ सय १७ लिटर, असोजमा १ सय ४२ लिटर र कात्तिकमा १ सय २५ लिटर तेल मन्त्रालयबाट लिएकी छिन् । मन्त्री चौधरीका स्वकीय सचिवले पनि मन्त्रालयबाट इन्धन लिने गरेका छन् ।

यता प्रदेश २ मा मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई तलब तथा विभिन्न शीर्षकको भत्ता र इन्धन सुविधा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपलब्ध गराउँदै आएको छ । तर मन्त्री र राज्यमन्त्रीहरूले आफ्ना मन्त्रालयबाट पनि इन्धनसहितको थप सुविधा लिने गरेका छन् ।

यसैगरि प्रदेश ३ का पाँचमध्ये तीन मन्त्री अर्थात् शालिकराम जम्मरकट्टेल, कैलाश ढुंगेल र दावादोर्जे लामाले मुख्यमन्त्री कार्यालयबाट इन्धन लिइरहेका छन् भने आफ्नो मन्त्रालयबाट सोही शीर्षकमा नगद लिइरहेका छन् । उता प्रदेश ५ का दुई मन्त्रीले अनुगमन र जिल्ला भ्रमणका नाममा मन्त्रालयबाट पनि तेल लिने गरेका छन् । जब कि उनीहरूलाई सरकारले मासिक दुई सय लिटर छुट्टै इन्धन दिन्छ ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo