वायु प्रदूषणको चपेटामा उपत्यकावासी : सासै फेर्न सकस

वायु प्रदूषणको चपेटामा उपत्यकावासी : सासै फेर्न सकस

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

वायु लगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ । सवारीसाधनले फालेको धुवाँ, सडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ ।

तर वातावरण प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको पैसा प्रयोगमा आउन सकेको छैन । सरकारले पेट्रोलियम पदार्थ ( डिजेल र पेट्रोल ) प्रयोग गरे बापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिने गरेको छ । यसरी उठाएको रकम पाँच अर्ब भन्दा बढी पुगेको छ ।

उक्त रकम प्रदूषण नियन्त्रणमा प्रयोग हुन सकेको भन्दै वातावरणविज्ञले सरकारको आलोचना गरेका छन् । वातावरणविज्ञ भुषण तुलाधार जनतासँग प्रदूषण शुल्कका नाममा कर उठाएर सोही क्षेत्रमा खर्च नगर्नु सरकारको गैरजिम्मेवारी भएको बताउँछन् । ‘जनतासँग प्रदूषण शुल्क बापत उठाएको कर सम्बन्धित क्षेत्रमा खर्च गर्ने सरकारको दायित्व हो,’ तुलाधरले भने, ‘उक्त रकम वातावरण सुधारका क्षेत्रमा प्रयोगमा ल्याउनु पर्छ।’

नेपाल आयल निगमले ०६६ सालदेखि डिजेल र पेट्रोलमा प्रतिलिटर ५०–५० पैसाका दरले उठाएर सरकारलाई बुझाउँदै आएको छ । प्रदूषण शुल्क अर्थमन्त्रालयको खातामा जम्मा गरी त्यसको जानकारी वातावरण मन्त्रालयलाई गराउँदै आएको आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले बताए । ‘निगमको दायित्व शुल्क उठाउने मात्र हो,’ शाहले भने, ‘आर्थिक ऐनमा भएको व्यवस्था अनुसार रकम संकलन गरेर सरकारको खातामा जम्मा गर्छौं ।’

निगमका अनुसार वातावरण प्रदूषण शुल्कबापत अहिलेसम्म पाँच अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ। आर्थिक वर्ष ०६६–०६७ मा ३६ करोड १८ लाख, ०६७–६८ मा ४२ करोड २३ लाख, ०६८–६९ मा ४१ करोड ९२ लाख , ०६९–७० मा ४७ करोड १३ लाख ८४ हजार पाँच सय चार रुपैयाँ संकलन भएको छ। आर्थिक वर्ष ०७०–७१ मा ५३ करोड, ०७१–७२ मा ५८ करोड ६१ लाख , ०७२–०७३ मा ५० करोड ७६ लाख र ०७३–०७४ मा ८४ करोड १८ लाख रुपैयाँ संकलन भएको छ। चालु आवको साउनदेखि कात्तिकसम्म ३७ करोड रुपैयाँ संकलन भएको जानकारी शाहले दिए । आर्थिक ऐन, २०६६ मा भएको व्यवस्थाअनुसार प्रदूषण शुल्क वातावरण सुधारका क्षेत्रमा खर्चिनुपर्नेमा त्यसो हुन सकेको छैन ।

नागरिकबाट

Logo