फौजदारी संहितालाई समृद्ध बनाउने कानूनमन्त्रीको प्रतिबद्धता

फौजदारी संहितालाई समृद्ध बनाउने कानूनमन्त्रीको प्रतिबद्धता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले फौजदारी संहितालाई संघीय संसदको आगामी हिउँदे अधिवेशनमा समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

गत भदौं १ गतेबाट कार्यान्वयनमा आएको फौजदारी संहिताप्रति आलोचना भईरहँदा मन्त्री ढकालले त्यसलाई संशोधनको माध्यामबाट समृद्ध बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

उनले संहिताप्रति व्यक्ति र समाजका विभिन्न संघ, संस्थाले राखेको सरोकारलाई सम्बोधन हुने गरी सरकारले आवश्यक कानुन संशोधनको प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।

बुधबार नेपाल कानुन समाजले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कानुनहरु कार्यान्वयनकै क्रममा संशोधन हुँदै जाने स्पष्ट पारे ।

मन्त्री ढकालले सरकार कानुन निर्माणको चापमा रहेको बताए । संविधान अनुकूलका कानुन निर्माण गर्ने कामलाई सम्पन्न गर्ने मन्त्री ढकालको योजना छ । उनले कार्यान्वयनमा गएका कानुनको व्यवहारिक प्रयोजनको निष्कर्षबारे सरकारलाई जानकारी गराउन सम्बन्धित पक्षलाई आह्वान गरेका छन् ।

कार्यक्रममा बोल्दै सर्वोच्च अदालतकी न्यायाधिश सपना मल्ल प्रधानले अपराधिक गतिविधिमा संलग्नहरुको पनि मौलिक हक मर्न नदिन राज्य सचेत हुनुपर्ने आवश्यक्ता औंल्याईन् ।

उनले जेल सजाय भुक्तान गरिरहेका अपराधिको घरपरिवारलाई पनि क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा पनि जोड दिईन् ।

महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनको काममा केन्द्रित हुन सम्बन्धित सबै निकायलाई आग्रह गरे ।

Logo