‘निर्मला प्रकरणमा प्रहरीले फेरि पनि नक्कली अभियुक्त खडा गर्‍यो’

‘निर्मला प्रकरणमा प्रहरीले फेरि पनि नक्कली अभियुक्त खडा गर्‍यो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले फेरि पनि नक्कली अभियुक्त खडा गरेको आरोप लागेको छ ।

प्रहरीले निर्मला पन्तको हत्यामा संलग्न रहेका आशंकामा काठमाडौँबाट एकजना र कञ्चनपुरबाट दुई गरि तीनजनालाई पक्राउ गरेको छ । पक्राउ परेका तीनैजनाले अपराध स्वीकार गरिसकेको प्रहरीले स्रोतले दावी गरेको छ ।

शनिबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले निर्मलाका हत्यारालाई सरकारले पक्राउ गरिसकेको र केही दिनमै सार्वजनिक गर्ने अभिव्यक्ति दिएका थिए । तर मानवअधिकारवादीले भने सरकारले फेरि पनि नक्कली अपराधि खडा गरेर घटनाको वास्तविकता लुकाउन खोजेको जिकिर गरेका हुन् ।

सार्वजनिक भएका व्यक्तिहरु निर्दोष रहेको प्रमाणहरु सार्वजनिक भईरहेको भन्दै नेपाल मानव अधिकार संगठनले प्रहरीले फेरि पनि नक्कली अपराधी खडा गर्न खोजेको आरोप लगाएको हो ।

संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले अहिले प्रहरीले अपराधि भनेर पक्राउ गरेको भनिएका केही युवाहरुलाई नियतवस फसाएर वास्तविक अपराधिलाई उम्काउन प्रयास भइरहेको आशंका व्यक्त गरे ।

‘प्रहरीले सुरुदेखि नै अपराधसँग सम्बन्धित सबै प्रमाणहरु नष्ट गरेको छ, दिलिपसिंह बिष्ट जस्तो व्यक्तिलाई अभियुक्त बनाएर सार्वजनिक गरेको छ, भारतमा रहेका निर्मलाका बुवालाई पुरानो मितिको मुचुुल्कामा हस्ताक्षर गराइएको छ, के प्रहरीका यी सबै कर्तुतहरु अहिले पक्राउ परेका भनिएका सामान्य युवाहरुलाई जोगाउनका लागि मात्रै थिए त ?, अर्यालले भने, ‘पक्कै होइन, प्रहरीले किन प्रमाण नष्ट गर्‍यो भन्ने कुरा जगजाहेर छ, निर्दोषलाई फसाएर वास्तविक अपराधि लुकाउने प्रपञ्च हुँदैछ यो बन्द गरियोस्, हामीले कञ्चनपुर गएर घटनास्थलको स्थलगत निरीक्षण गरेका छौँ ।’

उनले लाख प्रयास गरे पनि निर्मलाका वास्तविक हत्यारालाई लुकाएर लुकाउन नसकिने र एक दिन अवश्य सत्य बाहिर आउने दावी गरे । उनले गायक प्रवीण गुरुङको दुर्घटनामा तत्कालीन राजकुमार पारसलाई जोगाउन नक्कली चालक अघि सारिएजस्तै अहिले निर्मलाका वास्तविक अपराधि जोगाउन पनि सरकारले नक्कली अभियुक्त अघि सारिरहेको आरोप लगाए ।

शनिबार रक्षामन्त्री पोखरेलले समेत निर्मलाका हत्यारा पत्ता लागिसकेको र विधिसम्मत ढंगले सार्वजनिक गर्ने बताएका थिए ।

Logo