राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रको अवलोकन

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रको अवलोकन

केन्द्रबिन्दु
0
Shares

रुपन्देही

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बुद्धजन्मस्थलमा निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्र तथा ध्यान हलको अवलोकन गर्नुभएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ स्थापना दिवसका अवसरमा लुम्बिनीमा भएको विशेष समारोहमा सरिक हुन आउनुभएका राष्ट्रपति भण्डारीले कार्यक्रम पश्चात् निर्माणाधीन अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रको अवलोकन गरी त्यसबारे जानकारी लिनुभएको हो ।

पाँच हजार दर्शक क्षमताको सम्मेलन केन्द्र तथा ध्यान हलको दुई वर्षअघि बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति आफैंले शिलान्यास गर्नुभएको थियो । अवलोकनका क्रममा राष्ट्रपतिले योजना समयमा सम्पन्न हुने नहुनेमा चासो राख्नुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले योजना समयमै सम्पन्न गर्नेतर्फ विकास कोष प्रतिबद्ध भएर लागेको बताउँदै समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय र निमित्त सदस्यसचिव सरोज भट्टराईले लुम्बिनीको गुरुयोजना तथा सम्मेलन केन्द्र तथा लुम्बिनीमा भइरहेको कामबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । निमित्त सदस्यसचिव सरोज भट्टराईले आगामी २ वर्षमा सभाहल निर्माण सम्पन्न हुने जानकारी गराउनुभयो ।

लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिक लगायत कार्यक्रम गर्न हलको अभाव भएपछि लुम्बिनी विकास कोषले दक्षिण एशियाकै नमूना सभाहल बनाउन लागेको हो । सभाहल निर्माणका लागि झण्डै ३२ करोड खर्च लाग्ने विकास कोषले जनाएको छ ।
रासस

Logo