कांग्रेस बैठकमा एक कार्यकालमा दुई महाधिवेशनको प्रस्ताव

कांग्रेस बैठकमा एक कार्यकालमा दुई महाधिवेशनको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मुलुकको नयाँ संरचना अनुसारको पार्टीको विधान बनाउँदै गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र एक कार्यकालमा दुई महाधिवेशनको प्रस्ताव आएको छ ।

विधानमाथिको छलफलमा केन्द्रित जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा पूर्वसहमहामन्त्री समेत रहेका नेता अर्जुननरसिंह केसीले निर्वाचन महाधिवेशन र नीति निर्माण महाधिवेशन गरी एक कार्यकालमा दुई प्रकारको महाधिवेशनको प्रस्ताव गरेका हुन् ।

‘पार्टीको विधान अनुसार महासमिति बैठक महाधिवेशन हुने वर्ष बाहेक प्रत्येक वर्ष बस्नुपर्छ, त्यो भएन, अब विधानमा नै निर्वाचन महाधिवेशन र नीति निर्माण महाधिवेशन गरी दुई प्रकारका महाधिवेशनको व्यवस्था तोकेर पार्टीलाई सशक्त बनाऔं,’ नेता केसीले बिहीबारको बैठकमा भने ।

केसीले पार्टीलाई दरिलो बनाउन समेत नेतृत्वमा पार्टीप्रतिको जिम्मेवारीबोधको आवश्यकता रहेको भन्दै नेतृत्वमा आएपछि पार्टी विधानमा भएका कुराको पालनाले समेत पार्टीलाई बलियो बनाउने जनाए । पार्टीलाई नेताप्रधान नभई नीति र संस्थाप्रधान बनाउनुपर्ने भन्दै केसीले पार्टी सुदृढीकरणको अभियानको समेत आवश्यकता रहेको औंल्याए । पार्टीभित्र एकल नेतृत्व नभई सामूहिक नेतृत्वले मात्रै पार्टीलाई बलियो बनाउने उनको धारणा छ ।

उनले लोकतन्त्र, विधिको शासन र राज्यका तीन अंगबीच शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको पद्धति भत्काउन सत्तारुढ दल उद्दत रहेकाले पार्टीभित्रको आन्तरिक एकताका लागि समेत नेताहरू जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । ‘पार्टीभित्रको आन्तरिक एकता पनि अहिलेको आवश्यकता हो, सरकारका गलत कामको प्रतिवाद गर्न पनि आन्तरिक एकता आवश्यक छ,’ नेता केसीले भने ।
राजधानीबाट

Logo