काठमाडौं
निजामती किताबखानाले झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोड भन्दा बढी रकम असुल्ने निर्णय गरेको छ । रकम असुल उपर नहुँदासम्म ती सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत किताबखानाले गरेको छ ।
गत आर्थिक वर्ष २०७४/७५ र चालू आर्थिक वर्षको पछिल्लो चार महिनाको अवधिमा पाँच दर्जन बढी कर्मचारी कारबाहीमा परेको किताबखानाले जानकारी दिएको छ । कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि सहसचिवस्तरका कर्मचारी छन् । किताबखानाका अनुसार पहुँच र शक्तिका भरमा तथा सरकारलाई ढाँटेर जागिर खानेहरूमाथि कारबाही थालिएको हो । यसअघि किताबखानाले कडाइ नगर्दा कतिपय कर्मचारीले सेवानिवृत्त भएको सात वर्षसम्म पनि जागिर खाइरहेको पाइएको छ ।
तर अहिले किताबखानाले विशेष निगरानी गर्दै खोजतलासलाई व्यापक पार्न थालेपछि बढी अवधि जागिर खाएका कर्मचारीहरू धमाधम कारबाहीमा पर्न थालेका हुन् । किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले उमेर सकिएपछि पनि जागिर खाने कर्मचारीबाट करोडौं रुपैयाँ असुल गर्ने निर्णय भएको जानकारी दिए ।
प्रवक्ता पराजुलीले रकम असुल नहुँदासम्म सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत गरिएको बताए । किताबखानाले उनीहरू माथि थप छानबिन थालिएको जनाएको छ । जागिर अवधि सकिएपछि पनि उनीहरूले लिएको थप तलब, सुविधा तथा भत्ता बापतको सबै रकम जफत गर्ने निर्णय भएको किताबखानाका प्रवक्ता पराजुलीले जानकारी दिए । पेन्सन पट्टा रोक्का भएका कर्मचारीले अब सबै रकम राज्यकोषमा दाखिला गर्नुपर्छ । दाखिला नगरे उनीहरूको पेन्सन पट्टा नबन्ने र पेन्सन नपाउने पराजुलीले जानकारी दिए ।
किताबखानाका अनुसार सेवानिवृत्त भइसकेपछि पनि जागिर खाइरहेका कर्मचारीले गैरकानुनी रूपमा राज्यकोषबाट १ लाखदेखि १५ लाख रुपैयाँ बुझेका छन् । निजामती सेवामा सेवानिवृत्त हुने उमेर ५८ वर्ष हो तर देशका विभिन्न सरकारी कार्यालयमा सेवानिवृत्त उमेरभन्दा सात वर्ष बढीसम्म पनि जागिर खाइरहेका कर्मचारी भेटिन थालेपछि कारबाही थालिएको किताबखानाका प्रवक्ता पराजुलीले बताए ।
राजधानीबाट































प्रतिक्रिया