निर्मला हत्याप्रकरणः कालोपट्टीसहित प्रशासनमा धर्ना

निर्मला हत्याप्रकरणः कालोपट्टीसहित प्रशासनमा धर्ना

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु भएको छ । निर्मलाको न्यायका निम्ति निरन्तर आन्दोलनमा रहेको नागरिक संघर्ष समितिले सोमबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको हो ।

नागरिक संघर्ष समितिको अगुवाईमा अधिकारकर्मी, नागरिक समाजका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयको मुलगेटमा टाउकोमा कालोपट्टी बाँधेर धर्ना दिएका छन् । बिहान १० बजेदेखि अधिकारकर्मीले टाउकोमा कालोपट्टी बाँधेर धर्नामा बसेका हुन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार सोमबार र मंगलबार २ दिन बिहान १० बजेदेखि ४ बजेसम्म कालोपट्टी बाँधेर धर्नामा बस्ने कार्यक्रम रहेको नागरिक समाज कञ्चनपुरका पूर्व–अध्यक्ष नर बहादुर साउदले जानकारी दिए ।

अधिकारकर्मीले मुलगेटमा धर्नामा बसेपछि जिल्ला प्रशासन कार्यालयको कामकाजमा समेत अवरोध भएको छ । यसअघि सेवाग्राहीले वैकल्पिक बाटो भएर प्रशासन कार्यालयमा कामकाजका लागि जाने गरेपनि सोमबार भने आन्दोलनरत अधिकारकर्मीले वैकल्पिक बाटोमा समेत धर्ना सुरु गरेपछि कामकाजमा अवरोध आएको हो।

जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको वडा प्रहरी कार्यालयको बाटो भएर सेवाग्राहीहरु जानसक्ने भएपनि आन्दोलनरत अधिकारकर्मीले त्यहाँ पनि बाटो छेकेर अवरोध गरेका छन् ।

नागरिक संघर्ष समितिले २० गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत १९ गते न्याय खोज्दै दिउँसै टर्च लाईट बालेर प्रदर्शन गर्ने र २० गते महेन्द्रनगरमा बिशाल मानव साङ्गलोसहित प्रदर्शन गर्ने लगायतका कार्यक्रम घोषणा गरिएका छन्।

साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको बलात्कार र हत्या भएको एकसय २८ दिन बितिसकेको छ। तर अहिलेसम्म पनि हत्यारा सार्वजनिक गरिएको छैन् ।

Skip This
Skip This
Logo