वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा, सफाइमा कलाकारहरुको उत्साहजनक सहभागीता

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा, सफाइमा कलाकारहरुको उत्साहजनक सहभागीता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

वाग्मती सफाइ महाअभियानको ४०३ औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ ।

तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई दुई हजार, विनोद पानपसल आलोकनगरलाई रु एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई रु ५०० जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले जानकारी दिए। गरिमा वर्कशपलाई यसअघि पनि नदी किनारमा फोहर नफाली तोकिएको स्थानमामात्र व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागले चेतावनी दिएको थियो ।

जरिवाना गरिएको शुल्क महानगरपालिकाकै कोषमा जम्मा हुने गरेको छ । ४०३ औँ हप्ताको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विश्व शान्ति विहार मीनभवन, पहिलो पाइला, नेपाल आमा, आलोकनगर महिला समूह लगायतका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा अभिनेत्री नीता ढुङ्गाना पनि सहभागी भएकी थिइन् । सफाइबाट १० मेट्रिकटन फोहर व्यवस्थापन गरिएको पनि उनले बताइन् ।

उत्तरी चक्रपथ सफाइ २०० औँ हप्तामा

उत्तरतर्फको चक्रपथ सफाइ अभिायन २०० औँ हप्तामा प्रवेश गरेको छ । अभियानले २०० औँ हप्ता प्रवेशका अवसरमा आज विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, जनप्रतिनिधि, कलाकारको उपस्थितिमा विशेष कार्यक्रम गरिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनीहरुले सफाइ अभियानलाई जागरणका रुपमा टोल टोलमा बिस्तार गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा गायक बद्री पङ्गेनी र तिलक बस्नेत एवं गायिका मञ्जु पौडेल र कल्पना दाहालले गीतसमेत गाएका अभियानकर्मी शोभाकान्त पाण्डेले बताए । सो अवसरमा चक्रपथ क्षेत्रमा सफाइसमेत गरिएको थियो । विगत २०० हप्तादेखि चक्रपथ सफाइ अभियान निरन्तर हुँदै आएको छ ।

 

Logo