काठमाडौँ
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्क भन्दा १४ लाख बढी असुलेको पाइएको छ । नागरिकलाई प्राप्त विवरण र उक्त मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरिएको कुराकानीपछि यसको पुष्टि भएको हो ।
२०७५ असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं उपत्यकाबाहिर ४२ लाख ४५ हजार भन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई उल्लंघन गर्दै पर्साको वीरगन्ज महानगरपालिकामा सञ्चालित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ५५ लाख ८५ हजार ६ सय शुल्क निर्धारण गरेको छ ।
शैक्षिक कार्यक्रमबाहेक कलेजले होस्टल फी, मेस फी लगायतका अन्य शीर्षकमा असुलेको शुल्कको हिसाब जोड्ने हो भने ६३ लाख हाराहारी पुग्ने देखिन्छ । तर नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा. जैनुदिन अन्सारीले आफूहरूले सरकारले तोकेको भन्दा बढी शुल्क नलिएको दाबी गरे । ‘बढी शुल्क लियो भनेर मिडियामा कुरा गर्ने विद्यार्थी को–को हुन्, तिनीहरूको नाम बताउनुस्,’ आफ्नो कलेजको विषयमा मिडियाले अनावश्यक चासो लिएको बताउँदै अन्सारीले भने, ‘हाम्रो कुरा पनि सुन्नुपर्यो नि, विद्यार्थी र अभिभावकको मात्र कुरा सुनेर हुन्छ ? बढी लिएको प्रमाण भए उजुरी हाल्नुहोस् ।’ उनले मिडियामाथि आक्रोश पोख्दै आफूहरूको पछि लाग्नुको अर्थ नभएको पनि बताए ।
विभिन्न शीर्षक राखेर बढी शुल्क असुल्नु ठगी भएको भन्दै नेपाल कानुन व्यवसायी परिषद्का सदस्य अधिवक्ता केदार कार्कीले नेसनल मेडिकल कलेजविरुद्ध आवश्यक छानबिन गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने बताए ।
नागरिकबाट































प्रतिक्रिया