पोखरा
अवैध विदेशी मुद्राको कारोबार गरेको आरोपमा कास्की प्रहरीले भारतीय नागरिक विनयकुमार बबुलाल शाह र काठमाडौंकी चन्दा थापालाई पक्रेको छ । वडा प्रहरी कार्यालय बैदामले उनीहरुलाई लेकसाइडबाट ३१ लाख २८ हजार रुपैयाँसहित पक्रेको हो । उनीहरुबाट अमेरिकी डलर, युरो लगायत विदेशी मुद्रा बरामद भएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्कीका अनुसार भारतमै थुप्रै मानिसलाई ठगेर भागेका शाह नेपालमा अवैध मुद्रा सहित भेटिएका हुन् । उनीहरुबाट डलर सयको १ सय ९७, ५० को ५, २० को २ र १० को एउटा नोट फेला परेको छ । युरो ५ सयको ४, ५० को ७ वटा नोट र पाउन्ड ५ को २ थान नोट बरामद भएको छ । एटिएम, चेकबुक, ल्यापटप, मोबाइल र पेनड्राइभ पनि प्रहरीले उनीहरुको साथबाट नियन्त्रणमा लिएको छ ।
जति पैसा हाल्यो १४ महिनामा त्यसको दोब्बर बनाइदिने भन्दै शाहले गुजरातमा ठगी धन्दा चलाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शाहविरुद्ध गुजरातको अहमावादका प्रहरी थानामा नोभेम्बर मात्रै १० वटा उजुरी परेका थिए ।
भव्य कार्यालय राखेर प्रलोभनमा पार्न सफल उनको पोल खुल्नासाथ भागाभाग चलेको थियो । भारतीय सञ्चार माध्यमले शाह दर्जनौंलाई ठगी दुबई बसाइँ सरेको समाचार दिएका छन् । तर नेपाल प्रहरीले उनलाई समात्न सफल भएको छ । डीएसपी कार्कीले भारतीय प्रहरीले खोजिदिन नेपाल प्रहरीलाई कुनै आग्रह गरेकोबारे आफूलाई थाहा नभएको बताए । ‘हामीलाई हाम्रै सूचना प्राप्त भएको हो’, उनले भने ।
अन्नपूर्णबाट































प्रतिक्रिया