तुलसीपुर
नेपाली सेनामा जागिर लगाइदिने भन्दै युवासँग पैसा लिने तीन जना नेपाली सेनालाई सेनाले बर्खास्त गरेको छ । १९ नम्बर बाहिनी अड्डा तुलसीपुर मातहतमा रहेको ज्वालादल गण जाजरकोटमा कार्यरत तीन जना सैनिकलाई आर्थिक अनियमितिता तथा नैतिक र अनुशासनहीनता गरेको आरोपमा कारबाही गरिएको १९ नम्बर बाहिनी अड्डा तुलसीपुर दाङका बाहिनीपति, सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए ।
बाहिनीपति पाण्डेका अनुसार अनुशासनहीन काम गरेकाले सैनिक अदालतको निर्णय अनुसार बर्दियाको सानोश्री गाविस ८ घर भइ ज्वालादल गण जाजरकोटमामा कार्यरत जमदार नरेन्द्रबहादुर डाँगी, बाँकेको बैजनाथ गाविस १ चिसापानी घर भइ सोही गणमा कार्यरत हबलदार कुलबहादुर राना क्षेत्री र गोर्खाको पालुङटार नगरपालिका २ घर भएका सिपाही दिनेश अधिकारीलाई सेवाबाट बर्खास्त गर्दे कानुनी कारबाही गरिएको हो ।
जमदार डाँगीले नेपाली सेनामा भर्ना गराइदिने भन्दै डेढलाख रुपैयाँ लिएको तथा हवल्दार रानाले आफ्नो गाउँको भन्दै सघाएको र सिपाही अधिकारीले भर्ना भएपछि ५० हजार रुपैयाँ लिने कबुल गरेको प्रमाण भेटिएपछि सेवाबाट हटाइएको र कोट मार्सल अनुसार कारबाही गरिएको बाहिनीपति पाण्डेले बताए ।
आर्थिक अनियमितता गरेको स्वीकार गरेपछि सैनिक अदालतले डाँगी र अधिकारीलाई ३/३ महिना र रानालाई एक महिना कैद गर्ने फैसला समेत गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए ।
अन्नपूर्णबाट































प्रतिक्रिया