काठमाडौँ
देशकै सबैभन्दा पुरानो वीर अस्पतालमा तीन वर्षको अवधिमा नियम मिचेर चोर बाटोबाट झन्डै ५ सय कर्मचारी नियुक्त गरेको पाइएको छ । सेवा सुविधा विस्तारको वहानामा अस्पताललाई कर्मचारी भर्तीकेन्द्र बनाइएपछि सेवा प्रवाहमा समेत नकारात्मक असर परेको छ ।
अस्पतालमा सरकारीबाहेक संस्थान अन्तर्गतको कर्मचारीको भर्ना चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान सेवा आयोगले गर्ने प्रावधान छ । तर सेवा आयोगलाई निष्क्रिय बनाउँदै अस्पतालका उच्च पदाधिकारीहरूले तीन वर्षमा आफूखुसी ४८५ कर्मचारी भर्ना गरेको पाइएको हो ।
कार्यालय सहायक देखि चिकित्सकसम्म चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रहेको वीर अस्पताल र वीर अन्तर्गत रहेको ट्रमा सेन्टरमा ती कर्मचारी भर्ना गरिएको छ ।
भर्ना हुनेमा उच्चपदस्थका आफन्त तथा निकटस्थ रहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ । सेवा आयोगले ०७२ असोज यता कसैलाई पनि नियुक्ति गरेको छैन । तर त्यसयता वीर अस्पताल र सो अन्तर्गत रहेको ट्रमा सेन्टरको विभिन्न विभागमा ४८५ जना कर्मचारी थपिएका छन् । अस्पतालमा मनोमानी कर्मचारी भर्ना हुन थालेपछि प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले विस्तृत अनुसन्धान थालेको छ ।
उपसचिव यामप्रसाद भुसालको संयोजकत्वमा गठित चार सदस्यीय समितिले छानबिनका क्रममा कर्मचारी भर्नामा अनियमितता भेटेपछि अनियमिततामा संलग्नताका विषयमा थप अनुसन्धान सुरु भएको हो ।
केन्द्रको छानबिन समितिले छानबिनका क्रममा वीरमा अनियमित किसिमले सयौं कर्मचारी भर्ना गरेको तथ्य फेला पारेको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले जानकारी दिए । छानबिन समितिले दिएको प्रतिवेदनमा वीर अस्पतालमा मनोमानी कर्मचारी भर्ना गरिएको उल्लेख छ ।
राजधानीबाट































प्रतिक्रिया