काठमाडौँ
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकको प्रतिवेदन तयार पार्न उपसमितिलाई बुधबार समयसीमा सहित निर्देशन दिएको छ । समितिले सक्दो चाँडो विधेयक संसद् सचिवालयमा दर्ता गर्ने निर्णय समेत गरेको छ ।
संसदको आगामी बैठक बस्नु अघि विधेयक संसद् सचिवालयमा दर्ता गर्ने गरी काम अघि बढाउने सभापति जयपुरी घर्तीले बताइन् । विधेयक समितिमा छलफल क्रममा छ । संशोधन र सरोकारवालाको रायसुझावका लागि उपसमिति गठन गरिएको थियो । उपसमिति संयोजक भैरव सिंह राजधानी बाहिर भए पनि बिहीबारबाट विधेयक माथि छलफल हुने उनले जानकारी दिइन् । ११ सदस्यीय उपसमितिको चार पटक बैठक बसिसकेको छ । संयोजक अनुपस्थित भए पनि बिहीबार ज्येष्ठ सदस्यको संयोजकत्वमा बैठक बस्ने कार्यतालिका छ ।
समिति बैठकमा सांसदहरूले विधेयकबारे चौतर्फी चासो भएकाले संसद्मा लैजान ढिलाइ गर्न नहुने बताएका थिए । समितिले आगामी मंसिर २ गते सम्ममा विधेयक संसदमा दर्ता गर्ने गरी तयारी गरेको छ । ‘संसद् खुलेको पहिलो वा दोस्रो दिनमै पास हुने गरी काम गर्न लागेका छौं,’ पूर्वस्वास्थ्यमन्त्री तथा समिति सदस्य सांसद खगराज अधिकारीले भने । चिकित्सा सेवा र शिक्षामा सुधारको माग गर्दै आन्दोलनरत अभियन्ता डा. गोविन्द केसीले विधेयक पास गर्न ढिलाइ गरे पुनः अनशन बस्ने चेतावनी दिएका छन् । सोही कारण पनि दसैं–तिहारको बीचमा समिति बैठक डाकेर विधेयक संसद् पठाउन लागिएको हो ।
कान्तिपुरबाट





























प्रतिक्रिया