काठमाडौँ
कर्णाली प्रदेशका सांसदहरू प्रदेश सरकार विरुद्ध आक्रोशित बनेका छन् । दुई तिहाइको सरकारले प्रदेशको विकास र समृद्धिका लागि योजना बनाउन नसकेको भन्दै सांसदहरू आक्रोशित भएका हुन् । झण्डै तीन महिनापछि मंगलबारबाट कर्णाली प्रदेशसभा बैठक सुरु भएपछि संसदमै सांसदहरू मन्त्रीका बिरुद्ध खनिएका हुन् ।
बुधबार बसेको कर्णाली प्रदेशसभा बैठकको विषेश समयमा बोल्ने सांसदहरूले बजेट भाषणमा ल्याएका योजनाहरु योजना पुस्तिका (रातो किताब) मा नसमेटिएको भन्दै सांसदहरुले आक्रोश पोखेका हुन् । बजेट पारित भएको ४ महिनापछि मंगलबार सरकारले सांसदलाई उपलब्ध गराएपछि बुधबारको बैठकमा सांसदले रातो किताबमा केन्द्रित भएर धारणा राखे ।
बैठकको सुरुमै कर्णाली प्रदेशका विपक्षी दलका नेता तथा कांग्रेसका सांसद जीवनबहादुर शाहीले संसदमा बोल्दै सरकारको आलोचना गरेपछि सत्तापक्षका सांसदहरु पनि उनलाई पछ्याउँदै विरोमा उत्रिएका हुन् । ‘सरकार गठन भएको एक वर्ष भयो सरकारका मन्त्रीहरू सच्चिनु भएन भने हामी विकल्प खोज्न बाध्य हुनु पर्ला’ नेकपा सांसद ठम्मरबहादुर बिष्टले भने, ‘मुख्यमन्त्रीलाई नटेर्ने र संसदको गरिमालाई लत्याउने मन्त्रीको वर्गीकरण गरी फिर्ता बोलाउन ढिला गर्नु हुँदैन ।’ नेकपा संसदीय दलको नेताविहीन हुँदा पनि मन्त्री अटेरी बनेको उनले बताए ।
नेकपा सांसद पदम रोकायाले मन्त्रीले बजेटमा सांसदलाई विभेद गरेको भन्दै यस्तो नगर्न चेतावनी दिए । सरकारका गतिविधिले दुई तिहाइ बहुमतको सरकार ५ वर्ष सम्म टिक्नेमा शंका गरे । ‘सरकारका यस्तै गतिविधिले यो सरकार ५ वर्ष टिक्न सक्दैन’ उनले भने, ‘आज संसदमा ७ जना मन्त्री बाहेक अरु सबै प्रतिपक्षमा छौँ ।’ प्रदेश सरकारको गतिले जनतामा निराशा छाएको र सांसदलाई गाउँ जानसमेत कठिन भएको उनले बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया