रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको कालोपत्रे गर्ने काम आजबाट सुरु भएको छ । "/>

गौतमबुद्ध विमानस्थलको ५५ प्रतिशत काम सम्पन्न, कालोपत्रे शुरु

गौतमबुद्ध विमानस्थलको ५५ प्रतिशत काम सम्पन्न, कालोपत्रे शुरु

केन्द्रबिन्दु
0
Shares

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गको कालोपत्रे गर्ने काम आजबाट सुरु भएको छ । मंगलबारबाट ३ किलोमिटर लामो तथा ६० मिटर चौडाइको धावनमार्ग कालोपत्रे गर्न थालिएको हो । कालोपत्रेकोे काम पनि ४ महिनाभित्र सकिने आयोजनाले जनाएको छ । 

हाल सञ्चालनमा रहेको गौतमबुद्ध आन्तरिक विमानस्थललाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय बनाउन लागिएको हो । विमानस्थल निर्माण गर्न २०७१ कात्तिक २७ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपबीच सम्झौता भएको थियो ।  हाल अधिकतम ७२ सिट क्षमातयुक्त जहाजमात्र उडान–अवतरण गर्न मिल्ने यो विमानस्थल अन्तर्राष्ट्रिय बनेपछि अधिकतम ३ सय सिटसम्मका ‘बोइङ ७७७’, ‘एयरबस ३३०’ सिरिजका जहाज आउन–जान सक्छन् ।  

यो विमानस्थलमा ठूलो (वाइड बडी) आकारका चारथान जहाज पार्किङ एरिया, अन्तर्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, कन्ट्रोल टावरलगायत पूर्वाधार हुनेछन् । २०७१ माघ १ गते विमानस्थल स्तरोन्नतिको काम सुरु भएको थियो । 

अहिले निर्माणको मुख्य ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप लिमिटेड चाइनाले चिनियाँ कामदारमार्फत धमाधम काम गरिरहेको छ । कन्सल्ट्यान्टको जिम्मा पाएको युसिन कोरियन कन्सल्ट्यान्ट  र आयोजना क्यानले संयुक्त रूपमा मूल्याङ्कन गर्दा हालसम्म कार्यप्रगति ५५ प्रतिशत  भएको जनाएको छ । 

प्रशासकीय भवन निर्माण सकिएको छ भने कन्ट्रोल टावरको ८ तलामध्ये ६ तल्लासम्म काम सकिएको छ । पार्किङस्थलको काम सम्पन्न भएको छ । नाला, ट्याक्सी वेका काम भइरहेका छन् । लिङ्क वेका काम पनि भइरहेका छन् । 

यो क्षेत्रफलले आगमी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता राख्ने विमानस्थल आयोजनाको दाबी छ । विमानस्थल निर्माणको लागत कुल ६ अर्ब २२ करोड ५१ लाख ३० हजार २ सय २७ रुपियाँ ९१ पैसा रहेको छ । जसमा एडीबीले ४० दशमलब ५ प्रतिशत, साउदी अरबको साउदी फन्डबाट (ओएफआईडी)  ३० दशमलब ५ प्रतिशत, एडीबीको अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत तथा करसमेत गरी लागत बेहोेर्ने गरी निर्माण कार्य सुरु भएको हो । 

मङ्गलबार विमानस्थलको रनवेको कालोपत्रे गर्ने कामको उद्घाटन गर्दै पर्यटन मन्त्री रविन्द्र अधिकारीले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवाको निमाण कार्य छिट्टै सकिने बताएका छन् ।

Logo