भक्तपुर ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा यहाँका ज्येष्ठ नागरिकले घेराउ गरेका छन् । दसैं अघि नै दिनु पर्ने सामाजिक सुरक्षाभत्ता तिहार र छठ पर्व सकिँदा पनि नपाएको भन्दै उनीहरुले बुधबार नगरपालिका कार्यालय घेराउ गरेका हुन्।
अग्रज समाज नेपालको पहलमा ज्येष्ठ नागरिकले नगरपालिका कार्यालय घेरेका हुन् । उनीहरुले छिटोभन्दा छिटो आफूहरुलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन माग गरेका छन्।
नगरपालिकाले सामाजिक सुरक्षाभत्ता उपलब्ध नगराएसम्म संघर्षका कार्यक्रम जारी रहने समाजका अध्यक्ष महाप्रसाद पराजुलीले चेतावनी दिए । उनले बिहीबार पनि नगरपालिका घेराउ जारी रहने बताए ।
बिहीबारको लागि ज्येष्ठ नागरिकले टाउकोमा कात्रो बाँधेर एकोहोरो शंख फुक्ने कार्यक्रम तय गरिएको उनको भनाइ छ। देशभरका नगरपालिका र गाउँपालिकाले दसैं अगावै सामाजिक सुरक्षाभत्ता वितरण गरे पनि मध्यपुर थिमि नपाले अहिलेसम्म भत्ता वितरण गर्न सकेको छैन । नपाले आफ्नो क्षेत्रका ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएकाहरुलाई चालू आर्थिक वर्षको साउनदेखिको सामाजिक सुरक्षाभत्ता वितरण गरेको छैन ।
नपाका मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको विवादले ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरु सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका हुन्। नपाले चालू आर्थिक वर्षको चौमासिक भत्तावापत करिब ३ करोड रुपैयाँ वितरण गर्न बाँकी छ।
ज्येष्ठ नागरिकहरुले नगरपालिका घेराउ गर्नु अघि नगर प्रमुख लगायतलाई भेटेर छिटोभन्दा छिटो भत्ता उपलब्ध गराउन ध्यानाकर्षण गरेको थियो । ध्यानाकर्षणसँगै गएको शनिबार संघर्षका कार्यक्रम तय गर्न ज्येष्ठ नागरिकहरुको भेला आयोजना गरिएको थियो।अन्नपूर्णबाट































प्रतिक्रिया