काठमाडौं
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा बनिरहेको कोटेश्वर–कलंकी सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । उक्त खण्डमा अहिले फुटपाथ, जेब्राक्रसिङ लाइन, ट्राफिक संकेतको काम भइरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरञ्जन शर्माले बताउनुभयो ।
योजनाका मुख्य–मुख्य कामहरू सम्पन्न भएकोले बाँकी काम पनि निर्धारित समयमै सकिने उहाँले दाबी गर्नुभयो । ‘हामीले कालोपत्रे देखि अन्डरपास सम्मका मुख्यमुख्य काम सकिसकेका छौं । बाँकी काम पनि चाँडै नै सकिन्छ ।’ –इन्जिनियर शर्माले भन्नुभयो ।
पहिलोचरणको काम अन्तिम चरणमा पुग्दा चीन सरकारले नै कलंकी देखि महाराजगन्ज सम्मको सडक पनि विस्तार गर्ने भएको छ । दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको कलंकी–महाराजगन्ज ८ दशमलव २ किलोमिटर सडक खण्ड यसअघि नै चीनले बनाइदिने समझदारी पत्रमा नेपाल र चीन सरकारबीच हस्ताक्षर भइसकेको छ ।
यस्तै चिनियाँ प्राविधिकको टोलीले विस्तृत परियोजना प्रतिवेदन ( डीपीआर ) तयार पार्नका लागि अध्ययन सम्पन्न गरिसकेको सडक विभागले जनाएको छ । अहिले चिनियाँ टोलीले डीपीआर तयार पारिरहेको सडक विभागका इन्जिनियर छविलाल पौडेलले जानकारी दिनुभयो ।
‘डीपीआर तयार पार्न चिनियाँ टोलीले काम गरिरहेको छ ।’ उहाँले भन्नुभयो– ‘कहिलेसम्म रिपोर्ट तयार हुन्छ भन्ने उताबाट जवाफ आएको छैन । आएपछि बाँकी कुरा हुन्छ ।’ त्यसक्षेत्रको बिजुलीका पोल सार्ने, रूख काट्ने घरटहरा हटाउने , पानी, ढल सार्ने लगायतका कामका लागि प्रक्रिया अगाडि बढिसकेको विभागले जनाएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया