काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ । "/>

सांसद रामवीरको राजिनामा अस्विकृत : उपनिर्वाचनको बहस हालका लागि अन्त्य

सांसद रामवीरको राजिनामा अस्विकृत : उपनिर्वाचनको बहस हालका लागि अन्त्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित सो पार्टीका सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचन मार्फत प्रतिनिधिसभामा ल्याउन आवश्यक परेमा आफू उहाँका लागि राजीनामा दिन तयार रहेको भन्दै त्यसका लागि अनुमति पाउन पार्टी नेतृत्वलाई पत्र दिनुभएको थियो । मानन्धरले दिनुभएको पत्रबारे हिजोको बैठकले हाल राजीनामा दिनु नपर्ने औपचारिक निर्णय गरेको छ । पार्टीको यो निर्णयसँगै नेता गौतमलाई सांसद बनाउने पहल र चर्चा हालका लागि अन्त्य भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मानन्धरले संसद् सदस्यबाट राजीनामा दिने अनुमतिपत्र दिएको विषयमा हाल कुनै निर्णय गर्नु नपर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

गत असोज २२ को सचिवालय बैठकमा मानन्धरको उक्त पत्रबारे अनौपचारिक छलफल भएको थियो । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत पूर्वपरामर्श नगरी मानन्धरले एकाएक राजीनामाका लागि अनुमति मागेपछि शीर्ष नेताबीच आपसी शङ्का पैदा भएपछि मध्यमार्गी नेताहरुले अनौपचारिक संवाद गरी यो निर्णयमा पार्टी पुगेको हो । मानन्धरले राजीनामा दिने विषयले पार्टीभित्र र बाहिर व्यापक टीकाटिप्पणी हुनाका साथै निर्वाचित भएको एक वर्षमै सांसदलाई राजीनामा गराई बाहिरको नेतालाई उपनिर्वाचनको उम्मेदवार बनाएमा पार्टी पराजित हुन सक्ने खतरा औंल्याइएको थियो ।

यस्तो प्रवृत्तिले निर्वाचनका लागि राज्यको अतिरिक्त खर्च हुने बहस समेत उत्पन्न भएको थियो । पार्टी नेतृत्वले पार्टीका उम्मेदवारले हार्ने गरी उपनिर्वाचन नगर्ने जनाएसँगै नेता गौतमले मानन्धरले आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै आफू उपनिर्वाचन लड्न अनिच्छुक रहेको सार्वजनिक प्रतिक्रिया दिनुभएको थियो ।

प्रवक्ता श्रेष्ठले पार्टीलाई अझ बढी सुदृढ एकताका आधारमा साङ्गठनिक एकतालाई हरहालतमा टुङ्गो लगाई एकताबद्ध पार्टी र नेतृत्वका आधारमा सरकारलाई सफल बनाउन आवश्यक सबै निर्णय गर्ने बारेमा खुला र गम्भीर छलफल भएको बताउनुभयो । उहाँका अनुसार सचिवालय बैठक सोमबार दिउँसो पुनः बस्नेछ ।
रासस

Logo