विजयादशमीको दिन आज जीवित देवी भक्तपुरकी एकान्त कुमारी जीविका बज्राचार्यको हातबाट टीका थाप्नेको भीड लागेको छ । विजयादशमीमा भक्तपुरको तलेजुमा जीवित देवीका रुपमा पुजिँदै आएको एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न स्थानीयवासीको घुइँचो लागेको हो ।
कुमारी जीविका बज्राचार्यको हातबाट तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, पूजारी, जोशीहरु, कर्माचार्यहरु, गुरु तथा पुरोहितले साइतको टीका लगाएका छन् । कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने परम्परा रहेको तलेजुका मूल नाइके जोशीले बताए । कुमारीले साइतको टीका लगाएपछि कुमारीको हातबाट टीका लगाउन विभिन्न व्यक्तिहरु तलेजु मन्दिर पुगेका छन् ।
ब्रह्मायणीमा दिनभर जात्रा
भक्तपुरका बासिन्दाले ब्रह्मायणी मन्दिरमा भव्य जात्रा मनाएका छन् । प्रत्येक वर्ष विजयादशमीको दिन लाग्ने जात्रामा हजारौँ स्थानीयवासीको गए रातिदेखि आजदिनभरि नै भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि यसदिन भव्य मेला लाग्ने गरेको छ ।





























प्रतिक्रिया