काठमाडौँ

मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दैछ । "/>

नेपालमा करीब १० लाख बाथरोगी

नेपालमा करीब १० लाख बाथरोगी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण बाथरोगले दिनानुदिन बढी व्यक्तिलाई ग्रसित पार्दैछ । विश्व बाथरोग दिवसका अवसरमा नर्भिक अस्पतालले गरेको जनचेतनामूलक कार्यक्रममा दिइएको जानकारी अनुसार सबै उमेर समूहका मानिस बाथरोगबाट ग्रसित हुँदै आएका छन् ।

बाथरोग र अस्थिपञ्जर सम्बन्धी रोग झण्डै २०० भन्दा बढी प्रकारका रहेका छन् । बाथरोग लागिसकेपछि सामान्यतया रोग लागेको भाग वा अङ्ग दुख्ने, चलाउन कठिन पर्ने, कक्रक्क पर्ने आदि समस्या देखा पर्दछ । धूमपान, बढी तौल तथा अनावश्यक मोटोपना, वंशानुगत कारण मानिसमा बाथरोग लाग्ने जोखिम बढ्ने गर्छ । बाथरोग सम्बन्धी जनचेतनाको अभिवृद्धि गराउन सो अस्पतालले आज बिहान एक प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो ।

नर्भिक प्राङगणबाट शुरु भई थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्यूरोड गेट, कमलपोखरी, कालोपूल, जयवागेश्वरी, गौशाला, पुरानो बानेश्वर, बबरमहल हुँदै नर्भिकको प्राङगणमा आएर समापन भएको थियो । कार्यक्रममा बाथरोगीका अलावा सर्वसाधारण, चिकित्सक सहित करीब १५० जनाको सहभागिता थियो । सोही अवसरमा नर्भिकका नायब महाप्रबन्धक आरपी मैनालीले प्रत्येक तीन नेपाली मध्ये एकलाई जीवनको कुनै न कुनै क्षणमा कुनै न कुनै प्रकारको बाथरोगले दुःख दिने गरेको बताउनुभयो ।

बाथरोग वा मांशपेशी र अस्थिपञ्जर सम्बन्धी रोग लागिसकेका वा लाग्न सक्ने जोखिममा रहेका व्यक्तिलाई उपचारतर्फ उन्मुख गराई सजग गराउनु, रोग रोकथाम तथा नियन्त्रणतर्फ उन्मुख गराउनका लागि कार्यक्रम गरेको नर्भिकका बाथरोग विशेषज्ञ डा अरुणकुमार गुप्ताले बताउनुभयो । नेपालमा करीब १० लाख भन्दा बढी जनसङ्ख्या यस रोगबाट पीडित भएको अनुमान गरिएको छ ।
रासस

 

Logo