धनगढी
नेपालीहरूको महान् चार्ड दसैँ र तिहार नजिकिँदै जाँदा रोजगारीका लागि भारत पसेका यस क्षेत्रका नेपालीहरू चाडपर्व मनाउनका लागि फर्किन थालेका छन् । मौसमी रोजगारी गरेर घर फर्किने क्रममा सीमा नाकामा भारतीय प्रहरीले सामान जाँचका निहुँमा लुट्ने गरेका छन् भने नेपाली प्रहरी र भन्सारका कर्मचारीले समेत बाँकी नछाड्ने गरेको गुनासो सुनिन थालेको छ ।
असारको खेतीपाती लगाएर मौसमी रोजगारी गर्न भारतका विभिन्न सहर पसेका यस क्षेत्रका नेपाली कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट तथा दार्चुलाको धार्चुला नाकाबाट घर फर्किन थालेका छन् । भारतको नयाँदिल्ली, बङ्लोर, मुम्बई, रानीखेत, कालापहाड, पिथौरागढ, नैनीताल लगायतका ठाउँमा मौसमी रोजगारीका लागि यस क्षेत्रका मानिस जाने गर्छन् ।
कैलालीसंँग जोडिएको गौरीफन्टा नाकामा दसैँ तिहारका लागि भारतबाट घर फर्किने लाहुरेहरूको भीड हुने गरेको छ । दसैँ र दीपावली मनाउनका लागि छुट्टी मिलाएर स्वदेश फर्केको छु, यात्राको कारणले थकित देखिए पनि हँसिलो मुहार बनाउँदै अछामका मनोज साउँदले भन्नुभयो, चाडपर्वको रमाइलो गर्न वर्ष दिनमा आफ्नो गाउँघर नआई मन कहाँ मान्छ र ? विगत १२ वर्षदेखि मुम्बईमा काम गर्दै आउनुभएका उहाँले चार वर्षदेखि आफ्नो श्रीमतीलाई पनि उतै लिएर काम गरिरहेको सुनाउनुभयो । गौरीफन्टा नाकामा भेटिनुभएका साउँदले भन्नुभयो, अहिले उता कमाइ पनि राम्रो भएको छ । मासिक भारु २१ हजार तलब पाउँदै आउनुभएका साउँदले श्रीमतीले पनि काम गर्न थालेपछि बचत भइरहेको जनाउनुभयो ।
नेपालमा सजिलै रोजगारी नपाउँदा शिक्षित, सामान्य साक्षर र निरक्षर युवासमेत कामका लागि भारत जाने यो प्रदेशको एउटा परम्परा जस्तै बनेको छ । भारतका सिमला, हिमाञ्चल प्रदेश, पुने लगायतका ठाउँमा जाने गरेका छन् । नेपालमा काम नपाएपछि रोजगारीका लागि आफू परिवारसहित दक्षिण भारतको सुरतमा काम गर्दै आएको कैलालीका कालुराम विकले बताउनुभयो । चाडपर्व मनाउनका लागि घर फर्किंदै गर्दा नाकामा भेटिनुभएका उहाँले भन्नुभयो, श्रीमतीले कोठा भाडामा लिएर क्यान्टिन चलाउँछिन् । म प्लास्टिक कम्पनीमा काम गर्ने गरेको छु । दुवैको कमाइ मिलाएर गुजारा चलेको छ ।
प्रदेश सरकारले युवाहरूलाई प्रदेशमै रोजगारी दिने पटक–पटक दोहो¥याउँदै आए पनि भारत जानेहरूको कमी हुनुभन्दा सङ्ख्या झनै बढ्दै गएको छ । यो प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट आफैँले पनि धेरै वर्षसम्म मुम्बईमा काम गर्नुभएकोले स्थानीयस्तरमै युवाहरूलाई रोजगारी दिनका लागि आफू संवेदनशील रहेको बताउँदै आउनुभएको छ ।
यसरी वर्षौंदेखि मजदुरी गरी घर फर्किने नेपाली मजदुर भारतीय तथा सीमा क्षेत्रमा लुटिने क्रम भने जारी छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका इञ्चार्ज बुढामगरले दुई नेपाली मजदुर भारतमा लुटिएको बताउनुभयो । उहाँका अनुसार चण्डीगढदेखि नेपाल आउन लागेका नौमुले गाउँपालिका–४ दैलेखका २६ वर्षीय कृष्ण बुढामगर र सोही ठाउँका २४ वर्षीय दानबहादुर रोक्का मगरलाई बीच बाटैबाट लुटेको बताउनुभयो । उहाँहरूलाई खाना खाने बेला भारतमै लुटेको हो । उहाँहरूको साथबाट रकम लुटेको छ ।
नेपाली भाषीले नै उहाँहरूको साथबाट ४२ हजार भारु रुपियाँ लुटेको हो । कुटपिट गरेको र रकम लुटेको उहाँहरूले प्रहरीलाई बताउनुभयो । लुटिएर नेपाल पुगेका दुवैलाई प्रहरीले घरसम्म पु¥याउने व्यवस्था गरेको छ ।
गोरखापत्रबाट





























प्रतिक्रिया