काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाएको विषयले आन्तरिक तनाब सिर्जना भएको छ । १२ औं महाधिवेशनपछि लागू हुनेगरी हदबन्दी लगाउने पार्टी निर्णयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतका नेताहरुले फरक मत राखेका थिए । आइतबार मध्यरातमा सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा उमेर हदबन्दी लगाउने निर्णय गरेको थियो ।
३२ वर्षे हदबन्दीको निर्णयप्रति असन्तुष्ट नेताहरुले बिहीबार बस्ने केन्द्रीय कार्यसमितिको बैठक नै बहिष्कार गर्ने भएका छन् । कांग्रेस वरिष्ठ नेता पौडेलले बिहीबारको बैठक बहिष्कार गर्ने स्वीकार गरे । ‘बिहीबारको बैठकमा हामी जाँदैनौं,’ उनले भने, ‘नेतृत्व पेलेरै जाने अवस्थामा पुगेपछि ध्यानाकर्षण गराउन बैठकमा नजाने निर्णय गरेका हौं ।’
पौडेलले विधि र प्रक्रिया मिचेर निर्णय गर्ने प्रवृत्ति फेरि पनि बढ्न सक्ने भन्दै सचेत गराउन बैठक बहिष्कारको निर्णय गरेको दाबी गरे । नेविसंघले दुई वर्षअघि ११ औं महाधिवेशन गर्दा १२ औं महाधिबेशनदेखि उमेर हद लागू गर्ने विधानमै उल्लेख गरेको भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन् । नेविसंघले पार्टीमा बुझाएको संघीय विधानमा पनि ३२ वर्षे उमेरहद लागू गर्ने उल्लेख थियो ।































प्रतिक्रिया