खप्तड छेडेदह गाउँपालिका–७ का महिलाले मदिरा बिक्री वितरणमा रोक लगाउन गाउँमा मदिरा रोकथामका लागि -याली निकालेका छन् । गाउँपालिकाले हालै घोषणा गरेको मदिरा निषेध गर्ने निर्णयलाई कार्यान्वयन गर्न महिलाले मदिरा रोकथामका लागि -याली निकालेका हुन् ।
वडा महिला अधिकार मञ्चको अगुवाइमा वडा नं ७ को बुडावाडा, ओलीगाउँ र दानीगाउँमा महिलाले मदिरा रोकथामका लागि -याली निकालेका थिए । मञ्चका अध्यक्ष दीर्घमतीदेवी ओलीले जुवातास, जाँडरक्सी बिक्री वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न माग गरिन् । महिला हिंसाका घटना बढेकाले त्यसको रोकथामका लागि अभियान थालिएको उनको भनाइ छ । गाउँपालिकाले मदिरा सेवनको कार्य पूर्ण रूपमा बन्द गरिसक्दा पनि गाउँमा सेवन गर्नेको सङ्ख्यामा कमी नभएकाले त्यसको तत्काल रोकथाम गरिनुपर्ने उनीहरूको माग छ ।
पहिलो चरणमा सचेतनाका लागि नारा जुलुस प्रदर्शन गरेको भन्दै मदिरा सेवन गर्ने र बिक्री गर्ने काम नरोकिए आन्दोलन गर्ने ओलीले बताइन् । गाउँपालिकाले गरेको निर्णयको प्रभावकारी कार्यान्वयनका लागि महिलाले अध्यक्ष नरबहादुर रावत र उपाध्यक्ष कुन्ती बुढा साउदको ध्यानाकर्षण गराएका छन् । निर्णयले मात्र मदिरा नियन्त्रण नहुने भएकाले त्यसको कार्यान्वयनमा कडाइ गर्नुपर्ने उनीहरूको माग छ । रासस





























प्रतिक्रिया