काठमाडौं
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफू केही दिन बाहिर हुँदैमा देश नडुब्ने बताएका छन् । बिहीबार संसदमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बोलेको कुराको जबाफ दिँदै ओलीले यस्तो बताएका हुन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका ओलीले त्यहाँ एक नेपाली टेलिभिजन ‘यु स्टार्ट अगेन’ लाई अन्तर्वार्ता दिँदै देश समृद्धिको बाटोमा अघि बढिसकेको बताए । नेता नेपालले संसदमा सम्बोधन गर्दै ‘देश डुब्न लाग्यो, माझी छौ कि कोही किनारा लगाइदेऊ’ भन्दै सरकारको कामको चर्को आलोचना गरेका थिए । त्यसैको जबाफमा ओलीले भनेका छन्, ‘यो त राम्रो कुरा हो, म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौ न देश डुब्न लाग्यो, कोही त आऊ, बचाऊ भनेको सुनियो । म फर्केर गइहाल्छु, त्यो ठूलो समस्या होइन ।’
ओलीले आफू नहुने बित्तिकै कसैलाई शून्यता हुन लाग्यो, देश डुब्न लाग्यो भन्ने लागेको हुनसक्ने बताएका छन् । नेता नेपाललाई व्यंग्य गर्दै ओलीले भनेका छन्, ‘देश डुब्न लाग्यो भनेर उहाँले साहित्य वा कविता वाचन गर्नुभयो होला, देश अत्यन्त सही ढंगले सही बाटोमा अघि बढिरहेको छ ।
‘ल्यान्डक’बाट नेपाल मुक्त भएको छ, सार्वभौम र समृद्धितर्फ अघि बढिसकेको छ।’ ओलीले गुटबन्दी भयो भन्ने कुरा विरोधका लागि विरोध गर्ने कुरा मात्र भएको भन्दै प्रदेश पदाधिकारी र संसदीय समितिका सभापति योग्यता र क्षमताका आधारमा नियुक्त गरिएको बताएका छन् । ‘म पार्टी अध्यक्ष भइसकेको छु, प्रधानमन्त्री भइसकेको छु, कसैलाई किन पेल्नु पर्यो र ? भ्रष्टाचार गर्नु छैन, पैसा कमाउनु छैन ।’
नागरिकबाट





























प्रतिक्रिया