धनगढी
प्रदेशसभाले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णय गरेपछि त्यसको विरोधमा धनगढीमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको छ । धनगढी नगारिक समाज संघर्ष समितिले आमहडताल आह्वान गरेको हो । आमहडतालका कारण शनिबार धनगढीमा उद्योग, व्यापारिक प्रतिष्ठान, बजार, यतायात सबै क्षेत्र बन्द रहे । धनगढीबाट चल्ने छोटो तथा लामो दुरीका गाडी नचलेकाले यात्रु अलपत्र परे । बन्दले जनजीवन प्रभावित भयो ।
प्रदेश ७ को विकास हुन नदिन वन माफिया र भूमाफियाको प्रभावमा परेर धनगढीबाट जंगलका बीचमा राजधानी सार्ने निर्णय गरिएको भन्दै विरोधमा अनिश्चितकालीन आमहडताल आह्वान गरिएको संघर्ष समितिका हरि रेग्मीले बताए । ‘जंगल मासेर संरचना बनाउँदा अर्बौं रकम खर्च हुने, त्यसबाट प्रदेश विकास अवरुद्ध हुने र वन मासिने भएकाले हामीले विरोध गरेका हौं,’ रेग्मीले भने ।
अर्बौ रकम बराबरका संरचना बनिसकेको ठाउँबाट जंगल क्षेत्रमा राजधानी सार्दा फेरि अर्बौ खर्च लाग्ने र वन पनि मासिने भएकाले विरोध गरिएको नेपाली कांग्रेसका नेता नारायण भट्टले बताए ।
‘संसदीय अभ्यास विपरीत विपक्षी दलका एकजना पनि सासंद नभएका बेला गरिएको यो निर्णय मान्दैनौ भनेर हामीले बन्द गरेका हौं,’ रेग्मीले भने, ‘अर्को सूचना जारी नभएसम्म आमहडताल हुनेछ ।’ राजापालाई छुटाएर बनाएको तारा लामा तामाङको संयोजकत्वको संसदीय समितिको सुझाव प्रतिवेदन विधि र प्रक्रियाविपरीत भएको भन्दै नेपाली कांग्रेस र राजापका सासंदले प्रदेशसभा बैठकले गरेको निर्णयको विरोध गरेका छन् ।
प्रदेशसभा बैठकले शुक्रबार राजधानी गोदावरी बनाउने र प्रदेशको नाम सुदूरपश्चिम राख्ने प्रस्ताव दुईतिहाइ बहुमतले अनुमोदन गरेको थियो । सो बैठक राजपा र नेपाली कांग्रेसका सांसदले बहिष्कार गरेका थिए । सत्तापक्षका ३८ जना सबैले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा शून्य मत परेको थियो ।
नागरिकबाट





























प्रतिक्रिया