काठमाडौँ
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसँग छलफल गरेको छ । छलफलमा मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे गलत प्रचार गरिएको बताए ।
मन्त्री अधिकारीले आठ हजार हेक्टरमा २४ लाख रूख काटेर विमानस्थल बनाउने कुरा हल्ला मात्र भएको बताए । २५ सय हेक्टरमा विमानस्थल बनाउने गरी प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिँदै मन्त्री अधिकारीले त्यो पनि कागजी प्रक्रियाकै क्रममा रहेकाले रूख काटिहाल्ने स्थिति नरहेको स्पष्ट पारे । ‘विमानस्थल निर्माण गर्दै गर्दा सबै संरचना र आवश्यक पूर्वाधार सँगसँगै निर्माण गरौँ छिटो गरौँ भनेर प्रक्रिया अघि बढाइएको हो । आजको भोलि बन्चरो लिएर रूख काट्न जाने कुरा होइन,’ समिति समक्ष मन्त्री अधिकारीले भने ।
छलफलमा पूर्वप्रधानमन्त्री एवं नेकपा सांसद माधवकुमार नेपालले रूख काटेर सहर नबसाउन पर्यटनमन्त्री अधिकारीलाई सुझाब दिए । उनले निजगढ विमानस्थल बनाउन आवश्यक रहेको भन्दै भोलि पछुताउनु पर्ने अवस्था नआउने गरी वैज्ञानिक रूपमा अध्ययन गराएर प्रक्रिया छिटो अघि बढाउन सुझाब दिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया