पोखरा । पोखरामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोलाका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका हुन् ।
गएराति श्रीमतीको हत्या गरेर घरमै बसेका गुरुङ बिहीबार विहानै खोला तरेर गगनगौंडाफाँटमा डिलमुनी पराल मुनि लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । श्रीमाया ऐनबहादुरकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको छ ।
गुरुङले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग विवाद भएकाले हत्या गरेको उनले बताएका छन् । गएराति ९ बजे घर पुगेका गुरुङलाई श्रीमतीले ढिलो आएको भन्दै गाली गरेकी थिइन् ।
त्यसपछि उनले ढुंगाले तीन पटक टाउकोमा हान्दा श्रीमतीको मृत्यु भएको उनले बताए । ढुंगाले हानेपछि मर्यो कि मरेन भनेर आफूले पानी खुवाएको तर नचलमलाएपछि आफू त्यही घरमा सुतेको उनको भनाइ छ ।
यसअघि पोखरा महानगरपालिका २२ स्थित कोदीमा २७ बर्षीय कुशुम पौडेलले १० बर्षीय बालिका श्रेया सुनार विकको बलात्कारपछि हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेर सोमबार साँझ विस्कुट किन्न नजिकैको पसलमा गएकी श्रेयाको बलात्कारपछि हत्या गरेका थिए । पोखरा क्षेत्रमा मादक पदार्थ सेवनका कारण दुई जगन्य हत्याले पोखरा क्षेत्रका महिलाहरु निकै असुरक्षित महशुस गर्न थालेका छन् ।
तस्बिरः कास्की प्रहरी





























प्रतिक्रिया