अपाङ्ग अनुसन्धान तथा विकास केन्द्र, युनिभर्सल मिडिया ग्रुप र इन्टरनेसनल मिडिया हबको संयुक्त आयोजनामा नेपालमा पहिलो पटकअपांगता भएकाहरुको ‘रियालिटी शो’ हुने भएको छ ।
‘मिस्टर एन्ड मिस नेपाल फट डिसेबिलिटी– २०१८’ कार्यक्रम प्रमुख निलकण्ठ पौडेलका अनुसार कार्यक्रमको सबै तयारी पूरा भएको छ । ‘प्रतिभावान अपाङ्गता भएकाहरूलाई टेलिभिजन रियालिटी शो कार्यक्रम आफ्नो कला प्रस्तुत गर्ने उपयुक्त थलो हुने हामीले विश्वास लिएका छौं,’ पौडेलले भने, ‘रियालिटी शो सात वटै प्रदेशमा आयोजना गरिनेछ ।’
देशभरबाट यस रियालिटी शोमा ३ हजारभन्दा बढी सहभागी हुने कार्यक्रम निर्देशक जनक खड्काको भनाइ छ । विभिन्न विधामा हुने रियालिटी शोबाट छानिएका अन्तिम ३५ जनालाई टेलिभिजन कार्यक्रममार्फत दर्शकमाझ प्रस्तुत गर्ने उनले बताए ।
१६ देखि ६० वर्षका अपांगता भएकाहरु सहभागी हुने यस रियालिटी शोमा १० जना अन्तिम प्रतिस्पर्धामा जानेछन् । तीमध्ये एक जना प्रत्येक साता बाहिरिनेछन् । रियालिटी शो विजेताले चार चक्के मोटरसाइकलसहित ३ लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउनेछन् भने फस्र्ट रनरअपले ३ लाख रुपैयाँ र गिफ्ट ह्याम्पर तथा सेकेन्ड रनर अपले २ लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउनेछन् ।
रियालिटी शोमा अभिनेता राजेश हमालसहित पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री बसुन्धरा भूसाल एवं गायक/गीतकार/संगीतकार राजनराज सिवकोटी निर्णायक रहने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमबाट गायन, नृत्य, नाटक, वाक कला, चित्रकला, फेसन शो र बोडी शो, ह्विल चियर क्याटवाक जस्ता विविध अपाङ्गता भएका प्रतिभाहरूको हौसला र राष्ट्रिय कलाकार बन्ने चाहना साथै समाजमा स्थापित हुने अवसर प्रदान होस् भन्ने उद्देश्यले गरिएको खड्काले बताए ।





























प्रतिक्रिया