काठमाडौँ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेको छ । संसदको बुधबार बसेको प्रतिनिधिसभा बैठकमा काँग्रेस सांसदहरुले गृहमन्त्रीको राजिनामा मागेका हुन् ।
मुलुकभर श्रृंखलाबद्ध महिला हिंसा र हत्याका घटना बढ्दै गइरहँदा घटनाको अनुसन्धान गर्न पनि सरकार असफल भएको भन्दै कांग्रेसले गृहमन्त्रीको राजीनामा माग गरेको हो । कांग्रेसले निर्मला पन्तको हत्याको प्रमाण नष्ट गर्न राज्य शक्तिको दुरुपयोग भइरहेको तथा अध्ययन प्रतिवेदन सार्वजनिक हुन नसकेकोप्रति पनि गम्भीर आपत्ती जनाएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषाल गौतमले मुलुकभरको हत्या हिंसाको घटना रोक्न नसक्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने माग गरिन् ।
‘यो सरकारले हत्या हिंसाका शृंखलालाई रोक्न सकेको छैन । म निवेदन गर्न चाहन्छु,’ सांसद भुषालले भनिन्, ‘यति धेरै हत्या हिंसाका घटनाहरु र महिला अस्मिता माथि लागेका प्रश्न चिन्हको जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिएर आफ्नो नैतिक उदारता देखाउनु जरुरी भइसकेको छ ।’ एसिड प्रहार गरी महिलामाथि हिंसा गर्ने घटना बढ्दै गएको भन्दै उनले दिन प्रतिदिन हत्या हिंसाका घटना हुँदा राज्य मौन बसेको र कुनै पनि अपराधीलाई समातेर कारबाहीको दायरामा ल्याउन नसकेकोप्रति गम्भीर आपत्ती जनाइन् ।
‘विडम्बनाको कुरा छ, यो शासनकालमा अपराधीले न त कानुनसँग डरायो, न सरकारसँग नै’, सांसद भुषालले भनिन्, ‘यस्तो अवस्थामा सरकारले टुलुटुलु हेरेर बस्न हुँदैन ।’ उनले हिंसा नियन्त्रणमा प्रतिपक्षी दलले सरकारलाई जुनसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारिन् । उनले महिला हिंसाका घटनालाई राजनीतिकरण नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । गौतमले महिला विरुद्धका हिंसा र अस्मितामा प्रश्न चिन्ह खडा भएको बताइन् ।
राजधानीबाट





























प्रतिक्रिया