काठमाडौँ
दसैं, तिहारलाई लक्ष्य गरेर व्यवसायीले भारतबाट करिब ६० करोड रुपैयाँका खसीबोका ल्याउने तयारी गरेका छन् । दसैंमा मासुको खपत उच्च हुने भएकाले स्वदेशी उत्पादनले नथेगेपछि ४४ हजार खसीबोका भारतबाट ल्याउन लागिएको चौपाया खरिद–बिक्री सेवा संघले जनाएको छ ।
दसैं, तिहारमा खपत हुने करिब ५५ हजार खसीबोका, भेडाच्याङ्ग्रा मध्ये २० प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्ने संघका पूर्वअध्यक्ष गोविन्द पाठकले बताए । ५५ हजार मध्ये ११ हजार विभिन्न जिल्लामा उत्पादन भएका खसीबोका र भेडाच्यांग्रा बजारमा बिक्री हुन्छ । प्रतिगोटा १४ हजार रुपैयाँका दरले यो सिजनमा करिब ७७ करोड रुपैयाँको कारोबार हुन्छ । भारतबाट ल्याउने ४४ हजारलाई प्रतिगोटा १४ हजारका दरले हिसाब गर्दा करिब ६१ करोड ६० लाख रुपैयाँ हुन्छ ।
बजारको माग अनुसार स्वदेशमा पर्याप्त उत्पादन नहुँदा मासुमा भारतीय परनिर्भरता रहेको संघले जनाएको छ । ‘सरकारले मासुमा आत्मनिर्भर हुने घोषणा गरे पनि भारतकै भर पर्नु पर्ने बाध्यता छ,’ संघका पाठकले भने ।
सरकारले मासुमा आत्मनिर्भर बन्ने योजना बनाइरहँदा नेपाली उपभोक्ताले दसैं–तिहारमा भारत र चीनबाट आयात गरिएको मासु उपभोग गर्नु पर्ने बाध्यता छ । पहाड, तराईमा बाख्रापालन र हिमाली जिल्लामा भेडाच्यांग्रा पालनलाई प्रोत्साहन गर्न वार्षिक अर्बौं रुपैयाँ लगानी गर्दै आए पनि हरेकवर्ष विदेशबाट अर्बौंको मासु आयात हुँदै आएको छ ।
नागरिकबाट





























प्रतिक्रिया