सवारी चालकहरुको आन्दोलनले देशभर पेट्रोलियम पदार्थको हाहाकार भएको छ । अपराध संहिता संशोधन गर्न माग राख्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले थालेको आन्दोलनमा ट्यांकर चालकहरुले पनि समर्थन गरेपछि केही दिनदेखि पेट्रोलियम पदार्थको अभाव भएको हो ।
अहिले राजधानीका अधिकांश निजी पेट्रोल पम्पहरु बन्द अबस्थामा छन् भने साझाका केही पम्पहरुले सिमित मात्रा पेट्रोलियम पदार्थ बिक्रि वितरण गरिरहेको छ । साझाले स्कुटीलाई ५ लिटर, मोटरसाइकललाई १० लिटर र अन्य सवारीसाधनलाई १५ लिटर तेल वितरण गरिरहेको छ । तेल वितरण गरिरहेका पम्पहरुमा सवारीसाधनको लाइन निकै लामो छ ।
यसैबीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी नगर्ने ट्यांकर चालकसँग साँचो खोसिने बताएको छ । त्यसका लागि प्रहरीसँग समन्वय गरिरहेको निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले जानकारी दिए । तत्काल इन्धन ढुवानी नथाले निगम आफैँले इन्धन ल्याउने उनले बताए । आपतकालीन अवस्थाका लागि निगमले ६० जना चालकलाई तयारी अवस्थामा राखेको छ ।
यसैबीच बिहिबार भएको छलफलपछि आन्दोलनरत चालकहरुले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवसँग वार्ता गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाराको सक्रियतामा बिहीबार जितपुरमा भएको छलफलमा समिति र प्रशासनबीच काठमाडौंमा शुक्रबार वार्ता गर्ने सहमति भएको हो।
समितिले ऐन संशोधन नभएसम्म आन्दोलन फिर्ता नगर्ने अडान लिएको छ ।





























प्रतिक्रिया