(रामजी बलामी)

 

स्थानीय चुनावसँगै आम जनतामा बिकासको चाहना बढेका छन् । "/>

वडाध्यक्षको कमाल: ६ मिनेटमा सेवा, २ मिनेटमा सडक, घरघरमा धारा !

वडाध्यक्षको कमाल: ६ मिनेटमा सेवा, २ मिनेटमा सडक, घरघरमा धारा !

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

 

स्थानीय चुनावसँगै आम जनतामा बिकासको चाहना बढेका छन् । जन प्रतिनिधिहरुलाई पनि आफ्नो क्षमता प्रस्तुत गरेर मतदाताको मन जित्ने मौका आएको छ । चुनावताका आपूmले बाँडेको आस्वासनहरुलाई ब्यवहारमा कार्यान्वयन गर्न जनप्रतिनिधिहरु अग्रसर भएको खण्डमा मात्रै स्थानीय तहको बिकास सम्भव हुन्छ । जसले जनप्रतिनिधिको आगामी यात्रा पनि दिगो बन्छ ।

 

आश्वासन र योजना बनाउनु ठूलो कुरा भएन तर ति कुराहरु कति समयभित्र पुरा होलान् भन्ने महत्वपूर्ण कुरा हो । उत्तरी मकवानपुरस्थित थाहा नगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष शशिधर सुवेदीले भने आपूm निर्वाचित भएलगतै आफुले बाँडेको आश्वासनहरुसहित केही नयाँ अभियानहरु सार्वजनिक गरेका थिए । ति मध्ये केही पूरा भईसके भने कतिपय अबको केही महिनाभित्र पूरा हुँदैछ ।

 

६ मिनेटभित्र काम फट्टे

 

वडाध्यक्ष सुवेदीले आफ्नो भिजनको सुरुवात वडा कार्यालयबाट नै थालनी गरेका छन् । कुनै पनि नागरिक वडा कार्यालय पसेको ६ मिनेटभित्र काम फट्टे गर्ने गरी कार्ययोजना बनाएका छन् । उनले नागरिकको निबेदन हेर्न, त्यसको अध्ययन गर्न, सिफारिस लेख्न, दर्ता चलानी गर्न र रसिद काट्न ६ मिनेट भन्दा बढी समय नलाग्ने बताए । नागरिकले छिटो छरितो सेवा पाउने र कार्यालयमा पनि भिडभाड नहुने भएकाले यस्तो योजना ल्याएको उनको तर्क छ ।

 

सामान्य जानकारी लिनका लागि वडा कार्यालयसम्म आउन नपर्ने ब्यवस्था समेत मिलाएको उनको दावी छ । “प्रत्येक नागरिकले आफ्नै घरबाट जानकारी प्राप्त गर्न सकोस् भनेर हरेक घर घरमा मेरो सम्पर्क नम्वर दिएका छौं ।” स्थानीयले सानातिना समस्या पर्नासाथ आफुलाई सम्पर्क गर्ने भएकाले आपूmलाई काम गर्न थप हौसला मिलेको वडाध्यक्ष सुवेदीको भनाई छ । वडा कार्यालयमा पेश गरिने निबेदन लेख्न सेवाग्राहीलाई असहज नहोस् भन्ने हेतुले उनले निबेदनको ढाँचा समेत तयार पारेर सहजै उपलब्ध गराएका छन् । शिक्षित व्यक्तिले आफै निबेदन भर्न सक्छन् भने अशिक्षितका लागि वडा कार्यालयले एक जना कर्मचारीलाई निबेदन भर्न तोकिएको छ । बिनाशुल्क एक मिनेटभित्र निबेदन तयार हुने ब्यवस्था मिलाएका छन् ।

 

झाँक्रीलाई प्रशिक्षण, ‘जिरो होम डेलिभरी’ वडा

 

वडाबासी स्वस्थ्य हुनु भनेकै समग्र वडा स्वस्थ्य वडा हुनु हो, भन्छन् सुवेदी । यही मान्यता अनुरुप उनले स्वस्थ्य र स्वच्छ वडा बनाउनका लागि बिशेष कार्ययोजना बनाएका छन् । जस अन्तर्गत झाँक्रीलाई प्रशिक्षण दिनेदेखि ‘जिरो होम डेलिभरी’ वडा घोषणा गर्नेसम्मका कार्यक्रमहरु छन् । थाहा नगरपालिकामा ‘जिरो होम डेलिभरी’ वडा घोषणा गरिएको यही एउटा मात्रै वडा हो ।

 

बोक्सी आरोप लगाएको भन्दै उजुरी गर्न आउने र बिरामी पर्दा स्वास्थ्य संस्थामा जानुभन्दा पनि झाँक्रीलाई देखाउनतिर लाग्ने भएपछि वडा कार्यालयले स्थानीय झाँक्रीहरुलाई बोलाएर बिशेष प्रशिक्षण दिन लागेको हो । “प्रशिक्षणको मुख्य उद्धेश्य भनेको झाँक्रीकहाँ गएका बिरामीलाई स्वास्थ्य संस्थामा पु¥याउने हो ।” सुवेदीले भने । त्यसका लागि झाँक्रीहरुलाई मध्यस्तकर्ताका रुपमा काम गर्न अनुरोध गरिने छ ।

 

त्यस्तै केही दिनभित्रै करिव ९१ जना श्रीमानपीडित महिला र ३१ जना श्रीमतीपीडित पुरुषका दम्पतीलाई सहभागि गराएर प्रशिक्षण दिने योजना छ । बालबिबाह न्यूनिकारणका लागि तीन वटा गाउँहरु लिलाखेल, इकुण्डोल र ओखरगाउँलाई रेडमार्किङ एरियाका रुपमा घोषण गरिएको छ । जहाँ बिशेष कार्यक्रम संचालन गर्ने तयारी भईरहेको वडाध्यक्ष सुवेदीको भनाई छ ।

 

अर्काे महत्वपूर्ण अभियानका रुपमा यो वडालाई ‘जिरो होम डेलिभरी’ वडाका रुपमा घोषणा गरिएको छ । “अब यहाँका कुनै पनि महिलाले घरमा प्रसुती हुनुपर्ने छैन, त्यसका लागि गर्भवती भएदेखि प्रसुती नभएसम्म पुरै स्वास्थ्य सस्थाले निगरानी राख्ने छ ।” वडाध्यक्ष सुवृदीले भने । यहाँ प्रत्येक वडामा महिला स्वमसेवक र आमा समुह गठन भएका छन् । गर्भवती महिलाको निगरानी र पौष्टिक आहारको ब्यवस्थाका लागि स्वमसेवकहरुलाई नियमितरुपमा घर घरमै पठाउने गरेका छन् । महिलाको प्रसुती हुने समयमा घरसम्म एम्बुलेन्स लिन जाने र प्रसुती पश्चात दुई हजार रुपैंया सहयोगसहित एम्बुलेन्सबाट घरसम्मै पु¥याउने ब्यवस्था मिलाईएको छ ।

 

बज्रवाराही स्वास्थ्य चौकीमा केही समयभित्र एम्बुलेन्स ल्याउने तयारी भैसकेको छ भने ध्यान केन्द्र र आयुवेर्दिक केन्द्र संचालनको प्रक्रिया पनि शुरु भएको छ । वडा कार्यालयले कम्तिमा एक जना एमबीबीएस डाक्टर राख्ने योजना बनाएको छ ।

 

घरघरमा पानी र दुई मिनेटमा सडक

 

बिनाशकारी भूकम्पपछि यहाँका धेरै स्थानीय खानेपानीको समस्या झेलिरहेका छन् । अबको करिव ६ महिनाभित्र त्यो समस्या समाधान हुने भएको छ । वडा कार्यालयले बोरिङमार्फत यहाँका घर घरमा ५८७ वटा धारा वितरण गर्ने तयारी थालेका छ । त्यसका लागि अहिले तथ्यांक संकलनको काम भईरहेको छ ।

सीसीडीएनको सहयोगमा करिव २ करोड ७७ लाखको लागतमा खानेपानी आयोजना संचालन गर्न लागेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । यो आयोजना संचालन भएपछि सबैभन्दा बढी खानेपानीको समस्या भएका ऐलाख, लिलाखेल, पापुङ, इकुन्डोल, डाडागाउँ, थहचोक, पाल्चोक लगायतका स्थानीयले खानेपानीको सुविधा पाउने छन् । बोरिङ प्रविधिबाट संचालन हुने यो आयोजनाबाट दैनिक ३ लाख लिटर पानी निकालिने छ । दशैलगतै काम शुरु गर्ने र कम्तिमा ६ महिनाभित्र उपभोक्ताको घरमा पानी पु¥याउने लक्ष्य रहेको सुवेदीले बताए । यो आयोजनाले यहाँका नागरिकलाई कम्तिमा २० बर्षसम्म आनेपानीको समस्या नआउने उनको दाबी छ । “अब यहाँका हरेक घर घरमा धारा र मिटर जडान गरिने छ, चाहे जति पानी उपभोग गर्न पाउने छन्” सुवेदीले भने । पानी प्रयोग गरेवापत एकदमै न्यूनतम शुल्क मात्रै कायम गर्न लागिएको पनि उनले बताए ।

 

बिकासको पहिलो खुडकिला भन्दै सडक निर्माण, विस्तार र गुणस्तरीय बनाउन वडा कार्यालय प्राथमिकतामा राखेको छ । “यहाँका कुनै पनि नागरिक सडकमा पुग्न घरबाट २ मिनेट भन्दा बढी नलागोस् भन्ने हेतुले हामीले कार्ययोजना बनाएका छौ ।” सुवेदीले सडक योजनाबारे भने । यहाँका दुई वटा टोल इकुन्डोल र ओखरगाउँका स्थानीयलाई मात्रै सडकमा आईपुग्न २ मिनेट भन्दा बढी समय लाग्ने भन्दै सुवेदीले यही आर्थिक बर्षभित्र दुबै टोलमा सडक पु¥याउने योजना रहेको समेत सुनाए । उनले यही अभियान अन्तर्गत गत बर्ष १६ किमी सडक निर्माण गरेको, २२ किमी सडकलाई ईन्जिनियरि सडकका रुपमा बिकास गरेको र ५ ठाउँमा ढलानको काम गरेको बताए । “कोही स्थानीयले आफ्नो घरबाट सडकमा पुग्न २ मिनेट भन्दा बढी समय लाग्छ भनेर गुनासो गर्न आयो भने तुरुन्त सडक खन्छौ ।” सुवेदीले प्रष्ट पारे ।

यसका साथै सडक विकासको नाममा जहाँ पायो त्यहीँबाट बाटो खन्दा ऊर्वर भूमि मासिने भन्दै उनले खोलाको किनारलाई सडकका रुपमा बिकास गर्ने योजना अघि सारेका छन् । यसको परिक्षणस्वरुप नन्दीकेश्वर–बगर खोला किनारको प्रारम्भिक सर्वेक्षण भएको छ ।

 

चन्द्रागिरी सडक बिस्तारको काम भईरहेको र यो सडक संचालनमा आउनासाथ यो क्षेत्रमा सवारीसाधनको चाप ह्वाट्टै बढ्ने भन्दै यहाँको मुख्य सडकका रुपमा रहेको कुन्छाल–कुलेखानी सडकलाई ३० मिटरको बनाएर पक्की योजना छ । सडकको बीचमा १० मिटरको मुख्य मार्ग र दायाँ बाँया ५/५ मिटरको सहायक मार्ग बनाउने योजना छ । यसपटक यो बाटोलाई १३ करोड रुपैया बजेट परेको उनले जानकारी दिए ।

 

पुनर्निमाण प्रगति

 

२०७२ सालको भूकम्पले क्षति भएकामध्ये यस वडामा ५७६ जना लाभग्राहीको सूचिमा परेका थिए । जसमध्ये मध्ये ५२१ जनाले राहतका लागि सम्झौता गरेका थिए । ति मध्ये ४८१ जनाले दोश्रो किस्ता लिईसकेका छन् भने घर डिपीसी गरेका सबै १३६ जनाले तेश्रो किस्ता लिईसकेका छन् । आंशिक सुचीमा परेका करिव डेढ सय जनामध्ये ३५ जनाले ५० हजार रुपैंया प्राप्त गरिसकेका छन् । थाहा नगरपालिकामा सबैभन्दा छिटो पुनर्निर्माणको काम भएको वडा यही हो ।

 

तरकारीमा टनेल, हाँस पाल्न पोखरी

 

थाहा नगरपालिकाले यो ठाउँलाई तरकारीको पकेट क्षेत्र घोषणा गरेको छ भने फलपूmलमा किवीको पकेट क्षेत्र घोषणा गरेको छ । यही योजना वडा कार्यालयले टनेल खेतीलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् । यही अनुरुप यो क्षेत्रमा यो बर्ष मात्रै एक हजार टनेल निर्माण भईसकेको वडाध्यक्ष सुवेदीले बताए । कृषि उत्पादन अभिवृद्धिका लागि सिचाईलाई बिशेष प्राथमिकतामा राखेको छ । “टिनाल खेतीका लागि एकदमै ऊर्वर भूमि हो तर सिचाई अभावले त्यहाँ बर्षायाममा मात्रै खेतीपाती हुने गरेका छन्, हिउँदमा त्यतिकै बाँझो हुन्छ” सुवेदीले भने । उनले यही कुरालाई मनन गर्दै यस क्षेत्रमा लिप्mटिङ प्रविधिबाट २ लाख लिटरको पोखरी बनाउने योजना बनाएका छन् । टिष्टुङमा रहेका कुलोहरुमध्ये गत बर्ष तीन वटा मर्मत गरिएको र यो बर्ष एउटा मर्मत गर्ने योजना छ । सिचाईका लागि चार वटा अवधारण ल्याएका छन् । वडाको माथिल्लो भागमा स्प्रिङ सिचाई, तल्लो भागमा कुलोबाट सिचाई र सुख्खा ठाउँमा लिप्mटिङ सिचाई र इनारबाट सिचाई । टनेल खेतीका लागि इनार बनाउनेहरुलाई अनुदान दिने ब्यवस्था समेत रहेको उनको भनाई छ । करिव ६० प्रतिशत स्थानीय कृषि पेशामा संलग्न यस क्षेत्रबाट बैशाखदेखि मंसिरसम्म दैनिक ८ लाख रुपैयाको तरकारी विक्री हुन्छ ।

 

स्थानीयको आयस्तरवृद्धिका लागि पनि उनले आकर्षक योजना बनाएका छन् । कृषकहरुले सबैतिर हात हाल्ने र कुनै पनि स्रोतबाट पर्यापत आम्दानी नहुने अवस्था आएको भन्दै केही निश्चित क्षेत्रमा मात्रै हात हाल्न सुझाएका छन् । कार्यालयले माथिल्लो क्षेत्रका स्थानीयलाई दुधालु गाईपालन गर्न योजना ल्याउने र तल्लो क्षेत्रका स्थानीयलाई कुखुरा हाँस पालन गर्न प्रोत्साहन गर्ने योजना ल्याएका छन् ।

 

स्थानीयस्तरमा लोकल कुखुरा र हाँसका फुलको माग अत्यधिक हुने भएकाले वडा कार्यालयले त्यही अनुसार खोलामा पोखरी बनाई दिने योजना बनाएको छ । खोलालाई थुनेर ५ मिटरको ताल बनाउने र त्यहाँ सबै स्थानीयको सामुहिक हाँस चराउने उनको योजना छ । सडकमा गुड्ने सवारीसाधनलाई अवरोध पनि नहुने र उत्पादनमा पनि बृद्धि हुने लक्ष्यका साथ यो योजना ल्याएको उनको भनाई छ । “पोखरीमा बिहान हाँस लगेर छोड्ने बेलुका घर लैजाने, दिनभर ढुक्क” उनले योजना प्रष्ट्याए ।

 

अन्य

 

टिष्टुङ आफैमा पर्यटकीय क्षेत्र भएकाले यहाँ भएका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र संरक्षण गर्ने उनको अर्काे योजना हो । लिच्छिविकालिन शिलालेखहरुलाई संरक्षण गरी टिकेटिङको व्यवस्था गर्ने योजना छ । धार्मिक पर्यटकहरुलाई मध्यनजर गर्दै बज्रबाराहीको मुल थलोको संरक्षण र प्रवद्र्धन गर्ने, प्रमुख ३ शिव मन्दिरको प्रर्वद्धन, होमस्टे, पानी घट्ट, ढिकी जाँतो, सिस्नुको पाउडर, लोकल च्युरा, लगायतको संरक्षण र प्रर्वद्धन गर्ने उनको योजना छ ।

थाहा नगरपालिकामा पहिलो पटक फोहोर ब्यवस्थापनको काम यही वडामा मात्रै भएको छ । लिलाखेलदेखि पाल्खेलसम्म डष्टविनको ब्यवस्था गरी फोहोर बिर्सजनका लागि सेरिगेशन हाउस निर्माण गरिएको छ । अब सार्वजनिक शौचालय बनाउने, बसपार्क निर्माण गर्ने र निजी सवारीसाधनहरुका लागि छुट्टै पार्किङस्थल बनाउनेसम्मका योजना छ ।

Logo